युट्युबमा लोकप्रिय बन्दै रुपा न्यौपानेको तीज गीत


व्युटी न्युज नेपाल
काठमाडौं, २२ भाद्र

काठमाडौं फेसबुक, टुइटरलगायतका सामाजिक संजालमा हिजोआज युवा पुस्ता मात्रै नभई सबै उमेर समूहका मानिस झुम्मिएको देखिन्छ । जतिखेर पनि फुर्सद पाए की फेसबुक नै चलाएर बस्ने बानीलाई प्रतिकात्मक रुपमा गीतमा ढालेकी छिन् गीतकार कल्पना अधिकारीले ।

नजिकै आएको तीजको अवसरमा यिनै गीतमा आफ्नो स्वर र संगीत दिएकी छिन् नेपालकी पहिलो महिला सरोदवादक रुपा न्यौपानेले । केही समय पहिले सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोलाई तीज गीत प्रेमी दर्शकले निकै मनाएको पाइन्छ ।

फेसबुकको क्रेजलाई दर्शाईएको उक्त गीतको म्युजिक भिडियोमा मुख्य भूमिकामा रुपा न्यौपाने, रुमु न्यौपाने, मीरा पौडेललगायतले नृत्य गरेका छन् । दिपक रमणले निर्देशन गरेका उक्त गीतमा कलाकार कृष्णा खड्का र माया नगरकोटीलाई पनि दर्शकले देख्न पाउनेछन् ।

केही अगाडि हात भाच्चिएका कारण सरोदबाट केही समयका लागि टाढा रहेकी न्यौपानेले यही समयको सदुपयोग गर्दै तीज गीत श्रोतामाझ ल्याएकी हुन् । संचारकर्मी समेत रहेकी न्यौपानेको यस अगाडि पनि भजन र लोकगीत बजारमा आइसकेका छन् । साउन्ड मिल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको मिक्सिङ मास्टर महेश्वर राज भण्डारीले गरेका हुन् ।

सरोद बाजालाई संगीतप्रेमीमाझ चिनाउने उदेश्यले फलैंचा संगीत अभियान संचालन गर्दै आएकी न्यौपानेले हिजोआज फेसबुकको लत धेरैमा बसेकाले तीजको अवसरमा पनि यो गीत सान्दर्भिक हुने देखेर दर्शकमाझ ल्याएको बताइन् ।