व्युटी न्युज नेपाल
काठमाडौं, २२ भाद्र

युवा अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट आक्रमक सुरुवात भएको छ । यो चलचित्र मुलुकका ९५ ओटा सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको हो ।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्र रोज लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए । सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफुले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् । रोज मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यसको व्यापार सुखद छ ।

काठमाडौंको गोपिकृष्ण, गुण, अष्ट, बिग लगायतका धेरैजसो सिनेमा हलमा बिहानदेखि नै हाउसफुल भएको छ । यसका वितरक गोबिन्द शाहीले दिउँसो ११ बजेको शो पनि धेरै ठाउँमा हाउसफुल भएको जानकारी गराएका छन् ।

अर्का वितरक मनोज राठीका अनुसार पोखरा, धरान, दमक, बिर्तामोड, इटहरी, बुटबललगायतका शहरका सिनेमाहलमा पनि सो हाउसफुल छ । फिल्मले शुक्रबार बिहानीको शोबाटै आक्रमक व्यापार गरेको वितरकले बताएका छन् ।

रोजको शुक्रबार बिहान काठमाडौंका बिग मूभिजमा प्रिमियर शो गरियो । शोमा सञ्चारकर्मी तथा चलचित्रकर्मीले सिनमा सोचे भन्दा राम्रो बनेको प्रतिक्रिया दिए । बिहानैदेखि यो चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्री पारमिता आरएल राणा, मिरुना मगरलगायत प्रेस शो तथा सिनेमा हल पुग्दा दर्शकबाट घेरिएका छन् ।

यो चलचित्रमा अभिनेता प्रदीप, पारमिता, मिरुनालगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् ।

अभिनेता प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन् । अभिनेत्री मिरुनाले यो फिल्ममा आफु विकलको भूमिकामा भएको बताएकी छिन् । अर्की अभिनेत्री पारमिताले आफु मोडलको भूमिकामा भएको खुलाएकी छिन् ।

गोपिकृष्ण मूभिज र आरोही फिल्म्सले संयुक्त निर्माण गरेको यो चलचित्रमा अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको छ । यसलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् ।
रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।