प्रदीपको रोज मुलकुका ९५ हलमा 


व्युटी न्युज नेपाल
काठमाडौं, २१ भाद्र

चर्चित अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

रोजी मुलुकका मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हलमा यो सिनेमा आउने यसका वितरकहरुले बताएका छन् ।

यो चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन् । चलचित्र रोज लभ स्टोरी क्राईम जनरामा निर्माण भएको उनले बताए । सिनेमाले सबै प्रकारका दर्शकको मन जित्ने विश्वास आफुले लिएको निर्देशक पौडेलले जानकारी गराएका छन् ।

यो चलचित्र मुलुकका ९५ ओटा सिनेमा हलबाट रिलिज हुने भएको छ । वितरक गोबिन्द शाहीका अनुसार काठमाडौंको विश्वज्योती बाहेकसबै सिँगल र मल्टिप्लेक्स हलमा रोज लाग्ने भएको छ । यो चलचित्रले काठमाडौंको क्युएफएक्समा शुक्रबार १५ ओटा शो पाएको छ ।

काठमाडौं बाहिर सबै जसो हलमा लाग्ने चलचित्र अझै बढी हलमा थपिन सक्ने पनि मोफसलका वितरक मनोज राठीले जानकारी गराएका छन् ।

गोपिकृष्ण मूभिज र आरोही फिल्म्सले संयुक्त निर्माण गरेको यो चलचित्रमा अभिनेता प्रदीप खड्का अभिनेत्री पारमिता राज्यलक्ष्मी राणा र मिरुना मगरको मुख्य भूमिका छ ।

अभिनेता प्रदीप खड्काले बिगतको भन्दा रोजमा फरक काम गरेको बताएका छन् । एउटा सामान्य व्यक्ति कसरी आफुले सबैभन्दा बढी चाहेको प्रेमिकाको हत्या गर्न विवस भयो भन्ने भूमिकामा दर्शकले आफुलाई यो फिल्ममा हेर्न पाउने पनि उनले बताए ।

अभिनेत्री मिरुनाले यो फिल्ममा आफु विकलको भूमिकामा भएको बताएकी छिन् । अर्की अभिनेत्री पारमिताले आफु मोडलको भूमिकामा भएको खुलाएकी छिन् ।

चलचित्रको अन्य कलाकारमा कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् ।

अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् ।

रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

एक सातासम्म मोफसलका आठ शहरमा कन्सर्ट गरेर काठमाडौं आएका प्रदीप, पारमिता र मिरुनाले बुधबार र बिहिबार पनि काठमाडौंमा कन्सर्ट गरे । चलचित्रले अहिले निकै चर्चा पाएको छ ।