नेम्फा पपुलर फिल्म अवार्ड २०१८ – छक्का पञ्जा २ काे बर्चश्व 


व्युटी न्युज नेपाल
काठमाडौं १८ भाद्र

अमेरिकाको सिकागोमा नेम्फा पपुलर फिल्म अवार्ड २०१८ भव्यताका साथ सम्पन्न भएको छ । हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले नेपाली समय अनुसार सोमबार दिउँसो यो अवार्ड आयोजना गरेको हो ।

यो अवार्डमा यस पटक छक्का पञ्जा २ को बर्चश्व रहेको छ । यो फिल्मले चार ओटा विधामा पपुलर अवार्ड जितेको छ ।

फिल्म छक्का पञ्जा २ ले वर्षको पपुलर फिल्मको अवार्ड जितेको छ । यही फिल्मबाट दीपाश्री निरौले वर्षको पपुलर निर्देशकको अवार्ड चुमेकी छिन् ।

छक्का पञ्जा २ बाटै जितु नेपालले वर्षको पपुलर सह अभिनेताको अवार्ड हाँसिल गरेका छन् । यस्तै छक्का पञ्जा २ बाटै केदार घिमिरे माग्ने बुढासँगै विल्सन बिक्रम राईले पपुलर हास्य कलाकार विधाको अवार्ड जितेको छ ।

वर्षको पपुलर अभिनेताको अवार्ड फिल्म कृबाट अनमोल केसीलाई प्रदान गरिएको छ । यस्तै वर्षको पपुलर अभिनेत्रीको अवार्ड ए मेरो हजुर २ बाट अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रदान गरिएको छ ।

यस्तै वर्षको लोकप्रिय सह अभिनेत्रीको अवार्ड निता ढुँगानालाई प्रदान गरिएको छ । २०७४ मा रिलिज भएका फिल्ममा नायिकाको भूमिका निर्वाह गरेकी निताले कसरी वर्षको पपुलर सह अभिनेत्रीको अवार्ड पाईन् भन्ने प्रश्न उब्जिएको छ ।
यस्तै वर्षको पपुलर चलचित्र गायकको अवार्ड सत्यराज आचार्य र स्वरुपराज आचार्यले पाएका छन् । वर्षको पपुलर गायिकाको अवार्ड अञ्जु पन्तले प्राप्त गरेकी छिन् ।

अवार्ड समारोहमा युग नायकको अवार्ड अभिनेता भुवन केसीलाई प्रदान गरिएको छ । अर्का अभिनेता सुनिल थापालाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

यस्तै चलचित्र योगदान अवार्डबाट कार्यक्रममा गेहेन्द्र धिमाललाई सम्मानित गरिएको छ । अवार्ड समारोहमा केदार घिमिरे र विल्सन बिक्रम राईको प्रहसनले कार्यक्रममा सहभागीलाई खुबै हँसायो । सत्य स्वरुप, अञ्जु पन्तको गायनले पनि कार्यक्रमलाई संगीतमय तुल्यायो ।

३१ अगस्टदेखि २ सेप्टेम्बरमा अमेरिकाको सिकागो शहरमा आयोजना गरिएको ‘नेपाली नेसनल कन्भेन्सन–२०१८’ को समापन दिन ‘नेम्फा पपुलर फिल्म अवार्ड–२०१८’ प्रदान गरिएको हो ।

‘एसोसिएसन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका (एनमा), नेप्लिज एसोसिएसन इन साउथेस्ट अमेरिका (नासिया) र नेप्लिज एसोसिएसन इन द अमेरिका (एएनए) को संयुक्त आयोजनामा ‘नेपाली नेसनल कन्भेन्सन–२०१८’ सम्पन्न भएको हो । यो कन्भेन्सनमा अमेरिमा रहेको र अन्य देशबाट त्यहाँ पुगेका नेपालीहरु गरी करिब ४ हजार नेपालीहरु सहभागी भए । सोही सम्मेलनमा नेपाल चलचित्र संघले आयोजना गरेको नेम्फा पपुलर फिल्म अवार्ड भव्यसँग सम्पन्न भएको चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले जानकारी गराएका छन् ।