रेडियो नेपालका प्रथम गायक एवम् अभिनेता हरिप्रसाद रिमालको निधन


व्युटी न्युज नेपाल
काठमाडौं, १५ भाद्र

रेडियो नेपालका प्रथम गायक तथा अभिनेता, नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनी एक दशक भन्दा लामो समयदेखि फोक्सो सम्बन्धि समस्याले पीडित थिए । कृतिम अक्सिजनको सहराले बाँचिरहेका कलाकार रिमालको ९३ वर्षको उमेरमा १५ भदौ शुक्रबार बिहान १ बजेर ७ मिनटमा निधन भएको उनको परिवारजनले बताए ।

दिवँगत रिमालले तड्क भडक बिना सामान्य रुपमा आफ्नो अन्तिम संस्कार गर्नु भन्दै आएका थिए । त्यसैले उनको चाहना बमोजिम शुक्रबार बिहान ७ बजे उनकै निवास मध्यबानेश्वरमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जली कार्यक्रम राखियो । श्रद्धाञ्जली पछि अहिले उनको अन्त्यस्टिको तयारी भईरहेको छ ।

२ असोज १९८२ मा काठमाडौंको लगनटोलमा जन्मिएका कलाकार रिमालले बालकृष्ण समसँग धेरै नाटक खेलेपछि पहिलो नेपाली चलचित्र आमाबाट चलचित्र अभियन सुरु गरेका थिए ।

यसपछि उनले मनको बाँध, जीवनरेखा, के घर के डेरा, सन्तान सहित एक दर्जन चलचित्रमा अभिनय गरेका छन् । उनले चार दर्जन भन्दा बढी नाटक अभिनय गरेका थिए । नाटकका सफल निर्देशकका रुपमा समेत चिनिएका रिमाल अग्रज नाट्यकर्मी बालकृष्ण समका चेला थिए ।

भिमसेनको अन्त्य, मुकुन्द इन्दिरा जस्ता कैयौं चर्चित नाटक निर्देशन गरेका रिमालको निधनले नेपाली गीत संगीत तथा कला क्षेत्रले एउटा बहुमुखी प्रतिभा गुमाएको छ । व्युटी न्युज नेपाल उनको आत्माको चीर शान्तिको कामना सहित रिमालप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछ ।