पोखरा पुग्यो चलचित्र रोज टिम, सात सहरमा दर्शक नचाउने तयारी 


व्युटी न्युज नेपाल
काठमाडौं, १४ भाद्र

चलचित्र रोजका कलाकारहरुले बिहिबार पोखरेली प्रसँसकहरुले नचाउने भएका छन् । बुधबार नै मोफसल यात्रामा निक्लिएका रोजका कलाकारहरुले आज दिउँसो पोखरामा रोज कन्सर्ट प्रस्तुत गर्दैछन् । यही २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्र रोजको टिम पाँच दिनको लागि मोफसल यात्रामा निक्लिएको हो ।

कलाकारहरुले बिहिबार बिहान पोखराका पत्रकारसँग साक्षात्कार गर्दै छन् । बिहिबार दिउँसो पोखरामा रोज म्युजिक कन्सर्ट रहेको छ ।

चलचित्रका अभिनेता प्रदीप खड्का, अभिनेत्रीहरु मिरुना मगर, पारमिता राज्यलक्ष्मी राणा सहितका कलाकारहरु रोज टुरमा छन् ।

रोजका अभिनेता प्रदीप खड्का, अभिनेत्रीहरु मिरुना मगर र पारमिता राज्यलक्ष्मी राणाले पनि कन्सर्टमा दर्शकका लागि विशेष प्रस्तुति दिनेछन् । दर्शकका लागि आफुहरुको सरप्राईज प्याकेज रहेको अभिनेता प्रदीपले बताएका छन् ।

कन्सर्टमा हास्य कलाकार तथा बुगी वुगीका सञ्चालक दिनेश काफ्लेले प्रहसन प्रस्तुत गर्नेछन् । सञ्चारकर्मी सन्ध्या केसीले सञ्चालन गर्ने कन्सर्टमा नेपाल आईडलका उपबिजेता गायक प्रताप दास, गायिका प्रज्ञा श्रेष्ठले चलचित्र रोजको गीत सहित आफ्ना चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । कन्सर्टमा विभिन्न कलाकारको नृत्य कार्यक्रम पनि राखिएको छ ।

पोखराबाट सुरु हुने यो कन्सर्ट शुक्रबार बुटबलमा, शनिबार चितवनमा आईतबार इटहरी र धरानमा, सोमबार दमक र विर्तामोडमा आयोजना हुने रोजका निर्देशक निरक पौडेलले जानकारी गराएका छन् । हरेक शहरमा कलाकारहरुले कन्सर्टसँगै सञ्चारकर्मीसँग साक्षात्कार गर्नेछन् ।

गोपिकृष्ण मूभिज र आरोही फिल्मस्को व्यानरमा निर्मित रोजमा प्रदीपसँगै मिरुना, पारमिता, कर्मा शाक्य, प्रदीप दाहाललगायतका कलाकारको मुख्य भूमिका छ ।