आफ्नै नाममा गायिका सोनीको गीतिसँग्रह बजारमा


व्युटी न्युज नेपाल
काठमाडौं १३ भाद्र

गायिका सोनी राजभण्डारीले आफ्नो नयाँ गीतिसँग्रह ‘सोनी’ श्रोतामाझ ल्याएकी छिन् । यस अघि नेपाल भाषाको ‘लिधँसा’, राई भाषाको ‘रिसिया’ गीतिसँग्रह बजारमा ल्याएकी सोनीको नेपाली भाषाको पहिलो गीतिसँग्रह ‘सोनी’ हो ।

गीतिसँग्रह सोनीमा ४ ओटा आधुनिक गीत रहेका छन् । यी गीतमा राजेन्द्र डंगोल र अविदको शब्द एवम् संगीत रहेको छ । जसमा साटुंकी मेरो मन…, भैगोनि त…, तिमी नाम दिन्छौ भने…र तिम्रो एक शब्द…गीत सँग्रहित छन् । यी गीतमा बिजेन श्रेष्ठ, प्रदीप श्रेष्ठ र संजिव बराईलीले सँगीत संयोजन गरेका हुन् ।

उनले हालै नेपाल भाषाको गीति संग्रह ‘मतिनाया खँ’मा समेत गीत गाएकी छिन् । यस अघि नेपाल भाषाको जाया ओगु जोवन…गीत रेकर्ड गरेर चर्चामा आएपछि उनले नेपाली गीत गाएकी हुन् । सोनीको गीतिसँग्रह सोनीका गीत अहिले श्रोताले रुचाएका छन् । सँग्रहका गीतले राम्रो प्रतिक्रिया पाएकाले अब यी गीतलाई म्युजिक भिडियोमा समेत ल्याउने उनले बताईन् ।

त्यसो त उनले हालै मात्र आफ्नो एकल ट्रकको रुपमा नेपाल भाषाको गीत ‘वा रे भाजु वा…’ पनि बजारमा ल्याएकी छिन् । जुगल डंगोलको सँगीत र सँगीत संयोजन रहेको यो गीतको शब्द पूर्णकाजी ज्यापुले लेखेका हुन् । सोनी गीतिसँग्रहको गीतले चर्चा पाएपछि त्यसको प्रेरणाले यो नेपाल भाषाको नयाँ गीत ल्याएको पनि उनले बताईन् ।

गायिका सोनी बिगत दुई दशक देखि यो क्षेत्रमा छिन् । २०५३ सालमा सांस्कृतिक संस्थानबाट एक वर्षको गायन कोर्ष पुरा गरेपछि उनले यो क्षेत्र रोजेकी हुन् । २०५५ सालमा रेडियो नेपालबाट उनले स्वर परिक्षण उतिर्ण गरेकी थिईन् ।

त्यसपछि सोनीले बाल गीत, लोक गीत समेत रेकर्ड गराईन् । सोही क्रममा विवाह पश्चात उनी घर व्यबहारमा व्यस्त भईन् र गायनमा समय दिन सकिनन् ।

घर व्यबहारबाट केही फुर्सदिलो भएपछि उनी दुई वर्ष अघिबाट पुन गायनमा फर्किएकी हुन् । यही दुई वर्षको तयारी पश्चात आफुले हालै नेपाली भाषाको एकल गीतिसँग्रह ‘सोनी’ बजारमा ल्याएको उनले बताईन् ।