चलचित्र क्याप्टेन १६ कात्तिमा आउँदा बाँकी फिल्म अन्यौलमा


व्युटी न्युज नेपाल
काठमाडौं, १२ भदौ

आगामी तिहारलाई लक्षित गरेर तीन चलचित्र आउने तयारीमा छन् । तिहारलाई नै लक्षित गरेर अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ आउने भएको छ । यो चलचित्र सहित अब आगामी १६ कात्तिकमा रिलिज हुने नेपाली चलचित्रको सँख्या ४ ओटा पुगेको छ ।

आगामी २१ मंसिरबाट देशव्यापी प्रदर्शनमा ल्याउने भनिएको चलचित्र क्याप्टेनलाई १६ कात्तिकबाट रिलिज गरिने यसका निर्माता भुवन केसीले दाबी गरेका छन् । आफुहरु यो फिल्म तिहारमा ल्याउने तयारीमा रहेको भन्दै निर्माता भुवन केसीले यसको पोष्टर तीन दिन अघि रिलिज गरेका हुन् ।

त्यसो त तिहारलाई लक्षित गरेर २१ कात्तिकमा आफ्नो फिल्म ‘मालिका’ रिलिज गर्ने पहिलो घोषणा अभिनेत्री एवम् निर्माता रेखा थापाले गरेकी हुन् । उनले यो मितिमा आफ्नो सिनेमा ल्याउने भनेर प्रचार थालेपछि अर्को चलचित्र ‘चँगा चेट’ पनि तिहारमै ल्याउने घोषणा निर्माता माधव वाग्लेले गरे । यो फिल्मको एउटा गीत रिलज गर्दै एक साता अघि पत्रकार भेटघाट कार्यक्रममा तिहारको लागि १६ कात्तिकमा रिलिज मिति तोकिएको हो ।

तिहारमै आफ्नो सिनेमा ‘कश्मिक लभ’ रिलिजको घोषणा निर्माता सुरज प्रधानले यस अघि गरिसकेका छन् । अब सो मितिमा क्याप्टेन आउने भएपछि कश्मिक लभ दर्शकमाझ ल्याउने की न ल्याउने भन्ने अन्यौलमा उनी छन् ।

क्याप्टेन तिहारमा आउने भएपछि बाँकी दुई फिल्म मालिका र चँगा चेट पनि सो मितिमा आउँछन् या आउँदैनन्, अहिले नै भन्न गाह्रो छ । १४ कात्तिकमा आमिर खानको फिल्म ठग्स् अफ हिन्दुस्तान पनि नेपालमा रिलिज हुने भएको छ । यसरी एकातिर आमिर जस्ता बलिउड स्टारको फिल्म र अर्कोतर्फ अनमोल जस्ता नेपाली स्टारको फिल्म आउने भएपछि बाँकी फिल्म प्रदर्शनमा आउने की नआउने भन्ने अन्यालमै छन् ।