आयो गीतकार लाक्पा डेन्डीको दुई नयन


व्युटी न्युज नेपाल
काठमाडौं १२ भाद्र

अमेरिकामा बस्दै आएका गीतकार लाक्पा डेन्डी शेर्पाले आफ्नो एकल रचनामा गीतिसँग्रह ‘दुई नयन’ श्रोतामाझ ल्याएका छन् ।

राजधानीमा एक समारोहबीच यो गीतिसँग्रहको अग्रज गीतकार डा. कृष्णहरि बराल, संगीतकारद्धय शक्ति बल्लभ, सन्तोष श्रेष्ठ, गायकद्धय गम्बु शेर्पा र एपी शेर्पाले सँयुक्त रुपमा बिमोचन गरे ।

गीतकार डा. बरालले अमेरिकाको रमझममा रहेर पनि लाक्पा डेन्डीका शब्दहरु मौलिक नेपाली र देशप्रेमले ओतप्रोत रहेको बताए । संगीतकार शक्ति बल्लभले सँग्रहका संगीत श्रवणीय बनेको भन्दै सफलताको शुभकामना दिए ।

गीतिसँग्रह दुई नयन गीतबार लाक्पा डेन्डी शेर्पाको पहिलो एकल एल्बम भएको गायक गम्बु शेर्पाले सो कार्यक्रममा जानकारी गराए । गीतकार शेर्पा अहिले अमेरिकामै छन् ।

गीति सँग्रह दुई नयनमा ६ ओटा गीतहरु सँग्रहित छन् । जसमा राष्ट्रिय भावनाले ओतप्रोत, लोक, आधुनिक जस्ता विविध शैलीका गीत छन् ।

सँग्रहमा बुद्धले परिणिर्माण हुँदा…, स्वच्छ आकाश निश्चल पानी…, उठौं वीरका सन्तती…, म त अस्मिता लुटिएकी मान्छे…र माथि है साल्पा लेकैमा… गीत छन् । माथि है साल्पा लेकैमा…लाई पुरुष र नारी दुबै स्वरमा दुई ओटा गीत बनाएर सँग्रहमा राखिएको छ । यी ६ ओटा गीतहरु मध्य सन्तोष श्रेष्ठ, गणेश पराजुली र ओम कर्माचार्यको दुई–दुई ओटा गीतमा संगीत छ ।

दुई नयनमा सँग्रहित गीतलाई यम बराल, गम्बु शेर्पा, जगदिश समाल, बिष्णु अधिकारी, गणेश पराजुली, यशोदा पराजुली, एपी शेर्पा, मेलिना राई र डोमा शेर्पाले गायका छन् ।