व्युटी न्युज नेपाल
काठमाडौं, १० भाद्र
देशले रगत मागे मलाई बली चढाउ…सहित सैयौं कालजायी गीतका गायक तथा संगीतकार गोपाल योञ्जनको ७५ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरेर आईतबार मनाईएको छ । यसै क्रममा आईतबार सांस्कृतिक संस्थान र मधुरिमा नेपालले पनि विभिन्न कार्यक्रम गरेर योञ्जनको जन्म जयन्ती मनाएको छ ।
सोही अबसरमा जमल स्थित नाचघरमा योञ्जनको गीत गायन तथा सम्बाद कार्यक्रम आयोजना गरियो । कार्यक्रममा विभिन्न संगीतकर्मीहरुले गोपाल योञ्जनको साँगीतिक योगदानबारे आफ्ना विचार र अनुभव सुनाए ।
संस्कृतिमन्त्री रबिन्द्र अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा कलाकार आकाश थापाले देशले रगत मागे मलाई बली चढाउ…गीतबाट गायन कार्यक्रम सुरु गरेका थिए । यस्तै आकाशले नै कलाकार सिला बिष्ट अलीसँग मिलेर योञ्जनको अर्को गीत जीवनको हरेक मोडमा… गाउँदा दर्शकले तालीले साथ दिए ।
कलाकार विपिन घिमिरेले गाएको योञ्जनको गीत कहिले काहीं मनका कुरा…ले पनि दर्शकलाई मन्त्र मुग्ध पार्यो ।
यस्तै गोपाल योञ्जनलाई उनकै गीतबाट सम्झने क्रममा तिर्थराज पोखरेल र सिला बिष्टले मेरो पाउमा आज…, इन्दिरा गोले र शुभ तामाङले जुत्तामा हेर्दा…, निर्मला घिसिङले बनेको छ छहराले…, दीपेन्द्र बज्राचार्य र राधिका भण्डारीले तिमी देउ नदेउ…जस्ता गीत गाएर कार्यक्रमलाई गोपाल योञ्जनमय तुल्याए ।
कलाकार योञ्जनको गीत उत्कृष्ट गाए बापत विपिन घिमिरेले कहिले काहीं मनका कुरा…बाट पाँच हजार रुपैयाँ र आकाश थापाले देशले रगत मागे…बाट पाँच हजार रुपैयाँ पुरस्कार पाए । साँगीतिक कार्यक्रम भन्दा अघि अन्तरक्रिया आयोजना गरिएको थियो ।
आयोजक संस्था मधुरिमा नेपालका अध्यक्ष प्रदीप बञ्जनले कार्यक्रममा सबैलाई स्वागत गर्दै आफ्ना संगीतकार गुरु गोपाल योञ्जनसँगका अनुभवहरु सुनाए ।
संस्कृति मन्त्री रबिन्द्र अधिकारीले मन्त्रालयले अबका दिनमा राष्ट्रीय भावनाले ओतप्रोत गीत र यस्ता गीतका कलाकारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए । उनले राष्ट्रभक्ति गीतमा गोपाल योञ्जनबाट अहिलेको पुस्ताले धेरै सिक्नु पर्ने सुझाब दिए ।
कम्युनिष्टको गीत भन्दै त्यतिबेला राजाले गोपाल योञ्जनको गीतलाई रेडियोमा बजाउन रोक लगाएको स्मरण संगीतकार तथा ने क पाका केन्द्रिय सदस्य मणि थापाले गराए । बास्तविक देशभक्ति गीतका श्रष्टा योञ्जन रहेको पनि उनले बताए ।
यो कार्यक्रमका अध्यक्ष रामेश श्रेष्ठले गोपाल योञ्जनका गीत त्यो समयका क्रान्तिकारी देशव्यक्ति भावले ओतप्रोत हुन्थ्यो भने । उनले गोपाल योञ्जनका गीत संगीतले सँधै उर्जा दिने गरेको बताए ।
यस्तै गीतकार कृष्णहरि बरालले योञ्जनका गीतमा ठेट नेपाली शब्दका प्रयोग र मौलिकता हुने गरेको स्मरण गराउँदै उनीसँग बिताएका पलहरुको सम्झना गरे । त्यस्तै गीतकार भुपाल राईले गोपाल योञ्जनको गीति पक्षको र संगीतकार दीपक जँगमले संगीत पक्षको विशेषता बारे चर्चा गरे ।
डा. रामप्रसाद ज्ञवाली र कवि स्नेह सायमीले गोपाल योञ्जनका केही राष्ट्रिय गीतको चर्चा गर्दै त्यस्ता गीतहरु आजकाल बन्न छोडेकोमा चिन्ता व्यक्त गरे ।
संगीतकार गोपाल योञ्जनकी पत्नी रिन्छेन योञ्जनले गोपाल योञ्जनको बारे ट्रष्ट बन्ने भनेर धेरै पटक चर्चा भए पनि अहिलेसम्म त्यो बन्न नसकेको बताईन् । गोपालको व्यक्ति र सृजनाबारे उनले थप प्रकाश पारिन् ।
सांस्कृतिक संस्थानले दिवँगत श्रष्टाहरुको योगदानबारे नयाँ पुस्तालाई जानकारी होस भनेर यस्तो कार्यक्रम गर्दै आएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए । उनले सबैलाई धन्यबाद ज्ञापन गरे ।