अनमोलको क्याप्टेनको अफिसियल पोष्टर रिलिज, फिल्म १६ कात्तिकमा आउने


व्युटी न्युज नेपाल
काठमाडौं ९ भाद्र

अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को पहिलो अफिसियल पोष्टर रिलिज गरिएको छ । अभिनेता अनमोलले आफ्नै इन्टाग्रामबाट यो पोष्टर शनिबार बिहान रिलिज गरेका हुन् ।

अनमोलको आजै साँझ बुटबलमा कन्सर्ट छ । सो कन्सर्टमा यो पोष्टरलाई अफिसियली रुपमा रिलिज गर्ने कार्यक्रम रहेकाे यसका निर्माता भुवन केसीले व्युटी न्युज नेपाललाई जानकारी गराएका छन् ।

‘अहिले हामीले अनमोलको इन्टाग्रामबाट यो पोष्टरलाई बाहिर ल्याएका छौं । अब बेलुका बुटबलमा आयोजना हुँदै गरेको अनमोलको कन्सर्टमा हजारौं दर्शकबीच भव्य कार्यक्रममाझ यो पोष्टरलाई औपचारिक रुपमा सार्वजनिक गर्दैछौं ।’ निर्माता भुवन केसीले बताए ।

यो आधिकारिक पोष्टरमा अनमोललाई नेपाली राष्ट्रिय फुटबल टोलीको ११ नम्बरको जर्सीमा प्रस्तुत गरिएको छ । पोष्टमा उनको दुई ओटा तस्बिर राखिएको छ । अनमोलसँगै यो पोष्टरलाई निर्माता भुवन केसी र निर्देशक दिवाकरराज भट्टराईले पनि आफ्ना फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

आगमी २१ मँसिरमा आउने भनिएको चलचित्र क्याप्टेनलाई अब १६ कात्तिकमा ल्याईने भएको छ । तिहारको अबसर पारेर क्याप्टेनलाई ल्याउने तयारीमा आफुहरु जुटेको निर्माता भुवन केसीले बताए,‘हामीले नेपालीको दशैं तिहार जस्ता महान पर्व बिदेशी सिनेमालाई छाड्ने हो भने नेपाली सिनेमा कहिले चलाउने त ? त्यसैले जुन सुकै बिदेशी सिनेमा आए पनि हाम्रो फिल्म क्याप्टेनलाई यो तिहारको अबसर पारेर दर्शकहरुलाई दिवापलीको कोशेली स्वरुप १६ कात्तिकमै रिलिज गर्न लागेका हौं ।’

आफुहरुलाई हल सञ्चालकहरुले पनि यो मितिमा सिनेमा चलाएर सघाउने र नेपाली फिल्मलाई नै प्रोत्साहन गर्ने सल्लाह दिएपछि सबैको सुझाब अनुसार १६ कात्तिकमा क्याप्टेन ल्याउन तयार भएको पनि निर्माता केसीले प्रष्ट पारे ।