२२ मिनट छोट्टियो जय शम्भु, बल्ल बन्यो छरितो


व्युटी न्युज नेपाल
काठमाडौं, ४ भदौ

शुक्रबारबाट रिलिज भएको फिल्म जय शम्भु शनिबारबाट २२ मिनट छोट्टिएर दर्शकमाझ आएको छ । यो फिल्म रिलिज गर्दा २ घन्टा ४ मिनट थियो । यो फिल्ममा केही दृष्यहरु निकै लामो भएको टिप्पणी सञ्चारकर्मी तथा दर्शकबाट आएपछि यसलाई घटाईएको निर्माण पक्षले जनायो ।

जय शम्भुको यस अघि देखाईएको पार्टमा नायकको भाई र नायिकाको बाहिनीको प्रेम सम्बन्धको दृष्य २० मिनट भन्दा बढी थियो । यो दृष्य अहिले पुन सम्पादन गरेर करिब तीन मिनटमा झारिएको छ ।

सिनेमाका केही बोझिला सिन पनि निर्माण पक्षले हटाएको छ । यसरी २ घन्टा ४ मिनटको फिल्म जय शम्भुलाई काठमाडौंमा शनिबार र माफसफमा आईतबारबाट दर्शकमाझ १ घन्टा ४२ मिनटको बनाएर प्रदर्शन गरिएको फिल्मका प्रस्तुतकर्ता दिनेश शाहीले जानकारी गराएका छन् ।

यो फिल्मलाई घटाएर पुन इन्कोडिङ गर्दा निर्माण पक्षको करिब साँढे तीन लाख खर्च भएको छ । निर्देशकले समयमै फिल्मको दृष्यहरुबारे सही निर्णय लिन नसक्दा २२ मिनट फाल्नु परेको निर्माण पक्षको भनाई छ ।

यो चलचित्रलाई रुपेश तामाङले निर्देशन गरेका हुन् । जय शम्भु शुक्रबारबाट मुलुकका करिब ८० सिनेमा हलमा प्रदर्शन भएको हो । फिल्मले सिँगल थिएटरमा राम्रै व्यापार गरेको छ । मल्टिप्लेक्समा यो फिल्मले त्यति धेरै शो पाएन ।

जय शम्भुमा प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, वर्षा शिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतको अभिनय छ ।

जय शम्भुमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।