कलेज प्रचारका लागि अस्करमा ओपन हाउस


व्युटी न्युज नेपाल
काठमाडौं, २ भदौ

काठमाडौंका सुकेधारा स्थित ‘अस्कर कलेज अफ फिल्म स्टडिज’ले स्नातकमा नयाँ विधार्थी भर्ना आकर्षणका लागि शनिबार ओपन हाउस इभेन्ट गरेको छ । कलेजले आगन्तुकलाई फिल्म निर्माणको सुरुवातदेखि पछिल्लो समयको प्रविधि भिएफएक्सका बारेमा समेत जानकारी गरायो । ओपन हाउस इभेन्टमा कलेजका विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको सहभागिता थियो ।

कलेजका एकेडेमी डिरेक्टर मनोजबाबु पन्तले ओपन हाउसमा फिल्म निर्माण प्रक्रियाको सम्पूर्ण जानकारी दिए । आगन्तुकले क्यामराले छायाँकनसँगै चलचित्र निर्माणको प्रकृया हेर्न पाए । कलेजका विद्यार्थीले आगन्तुकलाई अभिनयको शैली बुझाउन आफैंले अभिनय गरेर देखाएका थिए ।

इभेन्टमा विद्यार्थीले खिचेका २० वटा फोटो पनि प्रदर्शन गरे । यसरी राखिएका चित्र जनजीवनसँग सम्बन्धित थिए । कार्यक्रममा विद्यार्थीले विभिन्न समयमा बनाएका फिल्मको पनि प्रदर्शन गरे । सहभागीले विभिन्न फेस्टिभलमा समेत सहभागिता जनाएका ‘काफ्ल पाक्यो’, ‘बुट्टे जामा’ ‘क्यार क्यार पंखा’, ‘कल्ली’ आदि छोटा सिनेमा कार्यक्रममा देखाईयो ।