व्युटी न्युज नेपाल
काठमाडौं, २८ फागुन

बाल्यकालमा आफ्नो दुवै हात गुमाएकी रुपा रौतारको गायिका बन्ने सपना साकार भएको छ । ६ वर्षदेखि संगीतमा सहयोगीहरुको साथ पाएकी रुपमाले आफ्नो एकल स्वर रहेको गीतिसँग्रह ‘हिम्मत भाकी छोरी’ स्रोतामाझ ल्याएकी छिन् ।

सोमबार राजधानीमा आयोजित बिमोचन समारोहमा बरिष्ठ हास्यव्यँग्य कलाकार हरिवंश आचार्य, संगीतकार सुरेश सेन्चुरी, समाजसेवी बिकाश घिरैया, संगीतकार राजु सिंहले हिम्मत भाकी छोरीको संयुक्त विमोचन गरेका थिए ।

कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले भने,‘रुपा बहिनीको स्वरले मन छुन्छ । उहाँको बारेमा बुझेर यहाँ गीत सुन्दा र हेर्दा झनै भावुक भैयो । गीतमा लेखिएका शब्द र भरिएको स्वरले उहाँको जीवन बोल्छ । उँहाको हात त छैन तर त्यसलाई गलाले अगाडी बढाउनेछ जस्तो लाग्छ ।’

संगीतकार सुरेश सेन्चुरीले भने,‘हामीले बागेश्वरी संगीत विधालय मार्फत प्रतिभालाई अगाडी ल्याउने क्रममा रुपा बहिनिलाई भेट्यौं र उनको प्रतिभालाई देखेर हामीले विगत ६ वर्ष देखि संगीतको प्रशिक्षण दियौं । हामीले उनलाई यहाँसम्मको यात्रामा लिएर आएका छौ र अबको यात्रामा यहाँहरुले उनलाई अगाडी बढाउनु हुनेछ ।’

बिमोचन समारोहमा यो सँग्रहको दुई गीतको भिडियो पनि कार्यक्रममा देखाइयो । भिडियो रिलिज गरिएको गीत हिम्मत भाकी छोरी…मा ज्ञानेन्द्र शर्माको छायाँकन, भरत रेग्मीको सम्पादन, सुबोल थापाको नृत्य निर्देशन र सुव्रतराज आचार्यको निर्देशन थियो । सोही कार्यक्रममा देखाईएको अर्को गीत प्रस्तुत लेख्दै छु… भिडियोमा प्रविन खड्काको छायांकन, प्रेम नेपालीको सम्पादन र यम पुनको निर्देशन थियो ।

रुपाद्वारा स्वरबद्ध एल्बममा ६ गीत समावेश छन् । गीतमा रुपाको एकल स्वर रहेको छ । जसमा सुरेशले एकल संगीत दिएका छन् । गीतहरुमा सरला गह, तेज प्रसाद पाण्डे, रोजिना थापा, डाक्टर कृष्ण हरि बराल, दिनेश खड्कासँगै संगीतकार सुरेश सेन्चुरीको शब्द छ ।