सिँगलसँगै मल्टिप्लेक्समा ‘कहीँ कतै’


व्युटी न्युज नेपाल
काठमाडौं , २५ साउन

नेपाली चलचित्र ‘कहीँ कतै’ शुक्रबारदेखि मुलुकका ५ दर्जन भन्दा बढी सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएको छ । सविर श्रेष्ठको लेखन तथा निर्देशन रहेको यो चलचित्रले नयाँ कथा बोकेको फिल्ममा रोमान्टिक र वियोगको संयोजन रहेको छ ।

यो चलचित्रबाट सोनम वरफुङ्पा र शिवानी गिरीले डेब्यु गरेका छन् । चलचित्रकी अर्की नायिका उमाबेबी गिरी हुन् । उमा र शिवानी आमा छोरी हुन् । यसरी कहीँ कतैबाट एकसाथ आमा छोरी नै नायिकाको रुपमा एउटै चलचित्रमा आएका छन् ।

यो चलचित्रलाई उमावेवी गिरीले निर्माण गरेकी हुन् । आफ्नो चलचित्रको शुक्रबार बिहान भन्दा दिउँसोको शो राम्रो भएको र यसले धेरै जसो मिल्टप्लेक्स हल पाएको पनि अभिनेत्री एवम् निर्माता उमाबेबीले जानकारी गराएकी छिन् । उनका अनुसार कहीँ कतैको सिँगल थिएटरसँगै मल्टिप्लेक्समा राम्रो प्रभाव छ । यो चलचित्रमा दीलिप रायमाझी, किशोर खतिवडाको पनि मुख्य भूमिका छ ।

निर्माता उमा वेवी गिरीले १४ वर्षदेखि यस क्षेत्रमा रहेको बताउँदै आफू सीमापारी सिक्किमको भए पनि नेपाली हुँ भन्ने भावनाले आकर्षित गरेको सुनाइन् । फिल्ममा १ करोड रुपैयाँ बढी लगानी रहेको छ ।

डेब्यु नायिका शिवानीले पनि दर्शकबाट आफ्नो कामको शुक्रबार राम्रो प्रतिक्रिया पाएको भन्दै खुसी जनाएकी छिन् । शिवानी मिस भारत र मिस हिमालयनमा फस्ट रनरअप समेत हुन् ।

सिक्किमका डेब्यु नायक सोनमले भाषागत रुपमा काम गर्दा केही अफ्ठयारो भएपनि चलचित्रलाई दर्शकले मन पराएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले फिल्ममा आफू र शिवानी लभ जोडीको रुपमा रहेको बताएका छन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । फिल्ममा द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गरेका हुन् । सचिन सिंह र लक्की सिटौलाको संगीत छ । फिल्म छायांकन नेपाल सहित सिक्किममा गरिएको हो ।