बुगी वुगीमा सर्लाहीको कविता सर्वोत्कृष्ट, जितिन २५ लाख


व्युटी न्युज नेपाल
काठमाडौं १९ साउन

करिब ८ महिनाको अथक मेहनत र प्रयासले नृत्य कलाकार कविता नेपाली डान्सिङ रियालिटी सो ‘बुगी वुगी’मा सर्वोत्कृष्ट बन्न सफल भएकी छिन् । एपी वान टेलिभिजनद्वारा प्रशारण हुँदै आएको यो प्रतियोगिताको फाईनलमा शनिबार बेलुका आफ्ना बाँकी अन्तिम दुई प्रतिस्पर्धी प्रगती पुन र सरोज मोक्तानलाई पछिपार्दै बुगी वुगीको उपाधी चुम्न सफल भएकी हुन् ।

सर्लाहीकी १८ वर्षीया कविताले बुगी वुगीको उपाधिसँगै २५ लाख रुपैयाँ प्राप्त गरिन् । उनले एपी वान टेलिभिजनबाट विभिन्न अबसर पनि हाँसिल गर्ने भएकी छिन् । उपाधि ग्रहहपछि कविताले सफल नृत्य कलाकार बन्ने जीवनको एउटा उदेश्य पुरा भएको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

यो प्रतियोगितामा प्रगती पुन द्वितीय स्थानमा रहँदै फ्रस्ट रनरअप घोषित भएकी छिन् । उनले उपाधिसँगै ६ लाख रुपैयाँ प्राप्त गरिन् । यस्तै तृतीय स्थानमा रहेको सरोज मोक्तान सेकेन्ड रनरअप घोषित हुँदै ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

दर्शकको मतको नम्बर ५० प्रतिसत र निर्णयकको नम्बर ५० प्रतिसतबाट उत्कृष्ट तीनको चयन गरिएको आयोजक पक्षले प्रत्यक्ष प्रशारण कार्यक्रममा जानकारी गराईयो । बुगी वुगीको फाईनल पनि एपी वानबाट प्रशारण गरिएको थियो ।

नेपाली फ्रेन्चाईज बुगी वुगीको निर्णायकमा अभिनेता दिलीप रायमाझी, अभिनेत्री प्रियंका कार्की र नृत्य निर्देशक कविराज गहतराज थिए ।

एलन श्रेष्ठको निर्देशन, सुरेश पौडेलको संयोजनमा सम्पन्न बुगी वुगीको कोरियोग्राफरहरू, रोहिया महर्जन, नरेशबीर सिंह, प्रशान्त ताम्राकारलगायत थिए ।

भारतमा जावेद जाफरी लगायतले लामो समय सञ्चालन गरेर बन्द भएको डान्सिङ रियालिटी शो बुगी वुगीको फ्रेन्चाईज अधिकार किनेर यसलाई नेपालमा एपी वान मार्फत प्रस्तुत गरिएको हो ।