आयो जय शम्भुको ट्रेलर, प्रशान्त र अनुपबीच टकराव


व्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

आगामी १ भदौबाट देशव्यापी प्रदर्शन गर्ने घोषणासहित निर्माण पक्षले जय शम्भुको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलर एक्सनप्रधान छ । जसमा लभ स्टोरी भएको प्रस्टिन्छ । चलचित्र जय शम्भुमा एक युवतीका लागि दुई युवाबीचको द्वन्द्वको कथा प्रस्तुत गरिएको छ । करिब दुई करोडको लगानीमा निर्मित जय शम्भु एक्सनप्रधान तथा लभ स्टोरी चलचित्र भएको यसका निर्देशक रूपेश तामाङले बताए ।

आइतबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा अभिनेत्री वर्ष शिवाकोटीका लागि अनुपविक्रम शाही र प्रशान्त ताम्राकारको टकराव देखाइएको छ ।

जय शम्भुमा प्रशान्त, अनुप र वर्षासँगै रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, वसन्त भट्ट, राजकुमार थापा, कालु रानालगायतको अभिनय छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अरविन्द्र मान शाक्य, चक्र पाख्रिन, कुशल शर्मा र शिक्षा काफ्लेको लगानी छ ।

यसमा हरि घले लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन रहेको पनि कार्यक्रममा जानकारी गराइयो ।