‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डे अमेरिकी सरकारबाट सम्मानित


व्युटी न्युज नेपाल
काठमाडौँ, ९ साउन
चर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) का निर्देशक गणेश पाण्डे अमेरिकामा त्यहाँको सरकारबाट सम्मानित भएका छन् । अमेरिकी सरकारको न्यूजर्सी सिटी काउन्सिलले निर्देशक पाण्डेलाई सम्मान गरेको हो ।

निर्देशक पाण्डेलाई नेपालको भूकम्पका विषयमा बहुचर्चित फिल्म बनाएर विश्वको ध्यान नेपालमा खिच्न सफल भएको र १७ वटा अवार्ड जितेको भन्दैसम्मान गरिएको न्यूजर्सी सिटी काउन्सिलका प्रेसिडेन्ट रोलान्डो लाभारोबाट हस्ताक्षरित सम्मानपत्रमा उल्लेख छ ।

न्यूयोर्कमा आयोजित ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीमा प्रेसिडेन्ट लाभारोका तर्फबाट निर्देशक पाण्डेलाई न्यूजर्सी सिटीकी सल्लाहकार डा. विष्णुमाया परियारले सम्मानपत्र हस्तान्तरण गरेकी थिइन् । न्यूजर्सी सिटीबाट यो विशेष सम्मान पाउने निर्देशक पाण्डे पहिलो नेपाली चलचित्रकर्मी भएको सल्लाहकार डा. परियारले सो कार्यक्रममा बताइन् ।

न्यूयोर्कमा युनाइटेड शेर्पा एशोशियशन र यूएसनेपाल अनलाइनले संयुक्त रुपमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शन गरेका थिए । कार्यक्रममा पत्रकार प्रदीप थापा मगर र युनाइटेड शेर्पा एशोशियशनका अध्यक्ष उर्गेन शेर्पाले अमेरिकामा रहेका नेपालीहरुलाई विश्वचर्चित ‘भाग्यले बाँचेकाहरु’ देखाउन पाउँदा आफूहरु निकै खुसी भएको बताए । बैशाख १२ गतेको भूकम्पलाई विदेशी भूमिमा बसेर पर्दामा हेर्दा अधिकांश दर्शकहरु भावुक बनेका थिए ।

यो बृत्तचित्रको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भईसकेको छ । ‘भाग्यले बाँचेकाहरु’ले बेलायतको संसदमा समेत प्रदर्शन हुने पहिलो नेपाली डकुमेन्ट्रीको इतिहास राखेको छ । ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ ।