फेरी पफ हेयरको फेशन

जयन सुब्बा मानन्धर
काठमाडौं, ४ साउन

साठीको दशकमा लोकप्रिय ‘पफ हेयरस्टाइल’ अहिले पुन फेशन ट्रेण्डमा रहेको छ । ट्रेडीशनल होस् या क्याजुवेल ,फर्मल होस् या सेमी फर्मल हरेक आउटफिटमा उपयुक्त देखिनुका साथै कपाल पनि चाडो नबिग्रने हुनाले यो हेयरस्टाइल प्रति महिलाहरु मोह बढेको पाइन्छ ।

आजकल पफ हेयरस्टाइलको धेरै चलन रहेको छ । यस्तो हेयरस्टाइललाई धेरै तरिकाबाट प्रस्तुत गर्न सकिन्छ । पफ हेयरस्टाइलमा फोक्स पफ, अप टु डु पफ, हाफ अप पफ, लुज पफ, फंकी पफ, पफ पोनिटेल, सेक्सी हाइ क्राउन् पफ आदि ट्राई गर्न सकिन्छ ।

यस्तो भेराईटिमा तपाईं आफ्नो हेयरकट, टेक्सचर एवम् अनुहारको आकारलाई ध्यानमा राखेर पफ हेयरस्टाइल छनौट गर्न सक्नु हुन्छ ।

फोकस पफ स्टाइल धेरैजसो बाक्लो एवम् कालो कपालमा राम्रो देखिन्छ । यदि कपाल बराबर मिलेर काटेको छ भने झन् बढी उपयुक्त हुन्छ । अप डु पफ हेयरस्टाइल अण्डा आकारको अनुहारमा राम्रो देखिन्छ । साथै यस्तो स्टाइल स्ट्रेट कपालमा पर्फेक्ट मानिन्छ । तर कर्ली कपालमा भने यो स्टाइल प्रस्तुत गर्न गाह्रो हुन्छ ।

हाफ अफ पफ आजकल सबैभन्दा बढी लोकप्रिय बनेको छ । साडी, कुर्ता सुरुवाल, वानपीस, इभिनिंग गाउन, अफिस वेयर आदि हरेक पहिरनहरुमा सुहाउने भएकोले धेरैजसो महिलाहरुले यो हेयरस्टाइलमा आफ्नो कपाल सजाईरहेका छन् । यो स्टाइल हरेक किसिमको अनुहारमा सुहाउने हुन्छ । अझ हलुका कपालमा यसलाई सजिलैसँग सेट गर्न सकिन्छ ।

पफ हेयरस्टाइलको बिशेषता भनेको नै यो हरेक किसिमको लम्बाई भएको कपालमा सुहाउनु हो । कपाल छोटो होस्, लामो या मिडियम होस् । सबै लम्बाईका पफ हेयरस्टाइल आकर्षक देखिने हुन्छन् ।
पफ बनाउने बेलामा अनुहारको आकारमा ध्यान दिन जरुरी हुन्छ । अनुहारको आकार कस्तो छ त्यही अनुसार पफ हेयरस्टाइल बनाउनु पर्छ, नत्र राम्रो लुक्स देखिंदैन ।

गोलो अनुहारमा सन्तुलन देखाउनको लागि कपालको बिचमा अग्लो पफ उठाएर कपाललाई छेउमा तल झार्नु पर्छ ।

अण्डा आकार अनुहारमा भने अगाडिपट्टि कपाल एकसार हुन् जरुरी हुन्छ । पातलो अनुहारमा भने चौडा देखाउनुको लागि बीचदेखि तल र छेउदेखि कपाल माथि लानु पर्छ । पफ बनाउने बेलामा कपाललाई राम्ररी बेककोम्ब गरेर हेयर स्प्रेले सेट गर्न आवश्यक हुन्छ । जसले गर्दा पफ हेयरस्टाइल राम्ररी सेट हुन्छ । कपाल स्ट्रेट एव सिल्की छ भने काइयोंले कोर्नु पर्दैन । त्यसको साटो हातले शेप दिएर पिन लगाउनु पर्छ । यदि कपाल रफ छ भने त्यसमा रेडिमेड बनको प्रयोग गर्नु पर्ने हुन्छ । किनकी रफ कपालमा नेचुरल स्टाइल दिन गाह्रो हुन्छ ।

कपालमा पफ हेयरस्टाइल बनाउदा राम्रो क्वालिटीको हेयरस्प्रे अथवा जेल मात्र प्रयोग गर्नु पर्छ । नत्र कपाल बिग्रने सम्भावना बढी हुन्छ । यदि पर्म गरेको कपाल छ भने पफ हेयरस्टाइल गर्ने बेलामा कन्डिसनर एव मुजको प्रयोग ज्यादा गर्नु पर्ने हुन्छ ।

मेकअप एव हेयरस्टाइल–सिर्जना कार्की
मोडल– सिमरन लुइँटेल
तस्बिर– कमल श्रेष्ठ