व्युटी न्युज नेपाल
काठमाडौं, २ साउन

आगामी २२ भाद्रबाट रिलिज हुने चलचित्र सुश्री सम्पत्तिको बाँकी एउटा गीतको छायाँकन ललितपुरको पाटन दरबार आसपासमा अहिले चलिरहेको छ । रँग पत्रकार सुब्रत आचार्य निर्देशित यो चलचित्रको हुकुम…गीतको छायाँकन अहिले भईरहेको हो । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा बिशाल राई र मेलिना राइको स्वर छ ।

गीतमा दरबारमा भारदारहरुसंगको नाच र रमाइलो प्रस्तुत गरिएको छ । पोशाक पनि त्यहि अनुरुप तयार गरिएको छ । कलाकारहरु भारदारी ठाँटमा नृत्यगर्न व्यस्त छन् । ८० भन्दा बढी कोरस सहित यस गीतमा सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपानेले नृत्य गरेका छन् ।

गीतलाई गम्भीर बिस्टले नृत्य निर्देशन गरिरहेका छन् । फिल्मका छायाँकार अर्जुन तिवारी भए पनि उनी व्यस्त भएका कारण यो गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरिरहेका छन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको सुश्री सम्पत्ति को कथा सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको सम्बाद रहेको यसको पटकथा अभिमन्यूकै हो । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

यो चलचित्रमा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर लगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा छिन् । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।