नारायणघाटमा अलिसाको हट डान्समा रमे दर्शक


व्युटी न्युज नेपाल
काठमाडौं ३१ असार

प्रचार प्रसारको लागि चार दिन देखि मोफसल यात्रामा रहेकोे चलचित्र ‘चीँ मुसी चीँ’ले शनिबार साँझ नारायणघाटको नारायणीनदी किनारमा भव्य कन्सर्ट गरेको छ ।

वर्षाको बेवास्ता गर्दै विभिन्न सहरमा कन्सर्टपछि त्यहाँ कार्यक्रम गरिएको हो । नारायणघाटमा सो चलचित्रकी अभिनेत्री अलिशा शर्माको कामुक नृत्यले दर्शकहरु मन्त्रमुग्ध भए । यो कन्सर्ट त्यहाँ हजारौंले हेरे ।

पूर्वी नेपालको बिर्तामोडबाट यसले आफ्नो कन्सर्ट सुरु गरेको हो । बिर्तामोडपछि कन्सर्ट धरान, हरिवन, हेटौंडा हुँदै नारायणघाट आएको हो । यी पाँच सहरमा यो चलचित्रको टिमले दर्शकलाई कन्सर्टमार्फत नचाएको छ । सो क्रममा यो चलचित्र ११ साउनबाट देशव्यापी रिलिज हुने जानकारी पनि दर्शकलाई दिईयो ।

यी सहरमा चीँ मुसी चीँका कलाकारले नृत्य एवं गायन प्रस्तुत गरेको यसका निर्देशक दिनेश श्रेष्ठले जानकारी गराएका छन् । चलचित्रको प्रचारका लागि आयोजित कार्यक्रम कन्सर्टभन्दा उत्कृष्ट भएको प्रतिक्रिया पाएको निर्देशक दिनेशको कथन छ ।

अभिनेता सुनिल क्षत्री र अलिशा शर्माको दमदार नृत्यसँगै दर्शकलाई नेपाल आइडलकी उत्कृष्ट पाँच प्रतियोगी सुजाता पाण्डेले गाएको चीँ मुसी चीँको गीतले थप मनोरञ्जन दिइरहेको थियो । अभिनेता सुशान्त कार्कीको नृत्य पनि निकै आकर्षक छ ।

चलचित्र टिमले देशैभर प्रमोसनल कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए । यो टिमले अब बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाडौंमा पनि कन्सर्ट गर्दै छ ।

अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मका कार्यकारी निर्मातामा शिवराज कार्की हुन् । यसमा अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ताका रूपमा छन् ।

चीँ मुसी चीँमा सुनिल क्षत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शशांक बस्याललगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रमा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी, बासु न्यौपानेको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।