एउटै फेशन शोमा उत्रिए १६ व्युटी पेजेन्टका बिजेता


व्युटी न्युज नेपाल
काठमाडौं ३० असार

बिगतका विभिन्न १६ ओटा सौन्दर्य प्रतियोगिताका बिजेता, बिजेतासहित ३४ जना मोडलहरु एउटै फेशन शोमा र्याम्पमा उत्रिएका छन् । सञ्चारकर्मी राजेन्द्र (राज) लुईटेलले उनीहरुलाई काठमाडौंमा शुक्रबार सम्पन्न ‘टाईटल विनर फेशन शो’मा उतारेका हुन् ।

शो मा भारतको मिस्टर वेष्ट वंगाल २०१३ अनुज शर्मालाई समेत उनले र्याम्पमा उतारे । अहिलेको मनसुनलाई लक्षित गरेर आयोजित फेशन शोको सञ्चालन आश्विनी झा र रोजिन शाक्यले गरेका थिए ।

द हिडेन ट्रेजरका अध्यक्ष एवं मिस नेपाल आयोजक गोपाल सुन्दर लाल कक्षपती प्रमुख आतिथि रहेको यो फेशन शोमा शो स्टपर्सको रुपमा अभिनेत्री संचिता लुईटेल र पूर्व मिस नेपाल उषा खड्की थिए ।

फेशन शोलाई कलाकारहरु जितु नेपाल, सुरेन्द्र केसी, महादेव त्रिपाठीले प्रहसनबाट रोचक बनाएका थिए । यस्तै यमन श्रेष्ठ, रिता केसीले कार्यक्रममा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विभिन्न चार सिक्वेन्समा फेशनहरु प्रस्तुत गरिएको थियो । फेशन शोमा टिशर्ट राउण्ड, क्रियटिभ डिजाईन राउन्ड, क्याउअल राउन्ड, समर ड्रेस राउन्ड जस्ता विभिन्न सिक्वेन्समा फेशन प्रस्तुत गरियो ।

फेशन डिजाईनहरु ममता बस्नेत, जानुका राई, सुमित रजकले तयार गरेका पहिरनहरु फेशन शोको आकर्षक बनेको थियो । यो फेशन शोको स्वस्तिका लामा र संजयराज विक्रमले कोरियोग्राफी गरेका थिए ।

विभिन्न सौन्दर्य प्रतियोगिताको बिजेतालाई एकै थलोमा ल्याएर उनीहरुको र्याम्प प्रस्तुतिका लागि यो फेशन शो गरिएको आयोजक राज लुईटेलले बताए ।