रिलिज चलचित्र
 
व्युटी न्युज नेपाल
काठमाडौं, २९ असार

आज शुक्रबारबाट देशव्यापी रूपमा नेपाली चलचित्र ‘बबी’ प्रदर्शनीमा आएको छ । मिलन चाम्स निर्देशित ‘बबी’ काठमाडौं र मोफसलका मल्टिप्लेक्समा राम्रोसँग चलिहरेको यसका निर्देशक चाम्सले बताए  ।

‘बबी हेर्ने दर्शकले अत्यन्त तारिफ गरिरहनु भएको छ । आज शुक्रबार प्रदर्शनीको पहिलो दिन सोचेको भन्दा राम्रो व्यापार छ । दर्शकले फिल्मबाट नयाँ स्वाद पाएको प्रतिक्रिया दिनु भएको छ ।’ निर्देशक मिलनले भने ।

काठमाडौंकी कविता गुरुङ (बबी) र ललितपुरका उमेश थापाको १८ वर्षअघिको अन्तरजातीय प्रेम कथामा चलचित्र बबी आधारित छ । अन्तरजातीय विवाह गर्दा परिवारबाट भएको असहयोग र त्यसले निम्त्याएका समस्यामा यो चलचित्र केन्द्रित छ ।

यो चलचित्रमा नायक नायिकाको रूपमा पनि उमेश र कविता आफैं छन् । आफुहरुको कामलाई दर्शकले रुचाउनु भएकोमा खुसी व्यक्त गर्नु भएको छ । आफुहरु कलाकार नभएर पनि कलाकारको जत्तिकै राम्रो काम गर्न सकेको प्रतिक्रिया दर्शकबाट पाएको कविताले बताईन् । फिल्मलाई दर्शकबाट प्राप्त सकरात्मक प्रतिक्रियाबाट उमेश र कविता निकै खुसी छन् ।

यो चलचित्रमा यी दम्पत्तिसँगै विजय लामा, रश्मी भट्ट, देशभक्त खनाललगायतको पनि मुख्य भूमिका छ । यो चलचित्रको नेपाल र नर्वेमा छायांकन गरिएको हो । चलचित्रलाई सञ्चारकर्मी नरेश भट्टराईले लेखेका हुन् ।

यो चलचित्रको बुधबार काठमाडौंमा प्रिमियर सो गरिएको थियो । उनीहरूको निकै पीडादायी प्रेम कथालाई पर्दामा हेरेर यी कलाकारसँगै दर्शक पनि भावुक भएका थिए । यो चलचित्र मुलुकका बहुसंख्यक मल्टिप्लेक्स सिनेमा हलमा अहिले प्रदर्शन भईरहेको छ । निर्माता निर्देशक मिलन चाम्सले शनिबार बबीले अझ राम्रो व्यापार गर्ने बताएका छन् । चार ओटा नेपाली चलचित्रसँग जुध्दा पनि बबीले मल्टिप्लेक्समा राम्रो साथ पाएको पनि मिलनले बताए ।