निकिता बोर्ड अध्यक्षबाट मुक्त, नयाँ अध्यक्षमा केशव भट्टराईको तयारी


बोर्ड सदस्य देउजा र सेन्सरका दुई सदस्यपनि पदमुक्त

व्युटी न्युज नेपाल
काठमाडौं, २४ असार

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल आईतबारबाट पदमुक्त भएकी छिन् । उनी सात महिना अघि २५ मंसिरमा शेरबहादुर देउवाको सरकार हुँदा अध्यक्षमा नियुक्त भएकी थिईन् । उनको नियुक्तीको त्यत्तिबेला काँग्रेस पक्षधर सिनेकर्मीबाटै व्यापक बिरोध समेत भएको थियो ।

सञ्चार मन्त्रालयले उनलाई आईतबार पदमुक्त भएको पत्र थमाएपछि अध्यक्ष पदबाट निकिता मुक्त भएकी हुन् । बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले गत १४ भदौदेखि २ फागुनसम्म देउवाको सरकारले गरेको सबै राजनीतिक नियुक्तिलाई क्याविनेटबाट बदरको निर्णय गरेपछि निकिताको पनि पद गएको हो । उनले आफु पदमुक्त हुनु अघि शनिबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेखेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् ।

अध्यक्षबाट निकितासँगै बोर्ड सदस्य बिजय देउजाको पनि पद खोसिएको छ । उनलाई पनि आईतबार नै मन्त्रालयले पत्र थमाएको छ । यस्तै देउवा सरकारले नै चलचित्र सेन्सर बोर्डमा पनि दुईजनालाई राजनीतिक नियुक्ती दिएको थियो । यसरी त्यो समयमा राजनीतिक नियुक्ति पाएका दुई कलाकार देवीराम पराजुली र उमेश खड्कालाई पनि सञ्चार मन्त्रालयले पत्र थमाउँदै पदमुक्त गरेको छ ।

निकिता बोर्ड अध्यक्षबाट मुक्त हुनासाथ नयाँ अध्यक्ष चयन तयारी सुरु भएको छ । जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष एवम् चलचित्र निर्माता कलाकार केशब भट्टराई बोर्ड अध्यक्ष बन्ने प्रवल सम्भावना छ । विद्युत प्राधिकरणका कर्मचारी केशबले अध्यक्ष बन्नका लागि भने विद्युतमा राजिनामा दिनु पर्ने हुन्छ । यदी उनले त्यता राजिनामा दिएको खण्डमा अध्यक्ष बन्नेमा उनी पहिलो नम्बरमा हुनेछन् ।

केशव भट्टरार्इ  ………………………………………………………………………………………………..

यता बोर्डको बाँकी दुई सदस्य पद पनि यसै साता खाली हुँदैछ । बोर्ड सदस्य नरेन्द्र महर्जन र अशोक प्यासी राईको कार्यकाल पनि यसैसाता सकिँदैछ । यसरी चलचित्र विकाश बोर्ड अध्यक्ष, बोर्डका तीन सदस्य र सेन्सर बोर्डका दुई सदस्य सहित ६ ओटा पद रिक्त हुँदैछ ।

नेकपा एमाले र नेकपा माओबादी केन्द्र पार्टी एकिकरण भईसकेको छ । यी दुबैको पार्टीको सिनेमा सम्बन्धि भातृसंस्था जनपक्षीय चलचित्रकर्मी संघ र अखिल नेपाल चलचित्रकर्मी संघ पनि चाँडै एक हुँदैछ । त्यसैले विकास र सेन्सर बोर्डमा रिक्त रहेको ६ ओटा पदका लागि यी दुबै संघबाट मिलाएर चलचित्रकर्मीलाई नियुक्त गर्ने सम्भावना छ ।