नेम क्याफेमा वल्र्ड कप फेशन शो, फुटबलसँगै फेशनको मज्जा


व्युटी न्युज नेपाल
काठमाडौं, २४ असार

शुक्रबारको मध्यरातमा काठमाडौंको पुतलीसडक स्थित नेम क्याफेमा वल्र्ड कप फुटबलको माहौल जमिरहेको थियो । फुटबल प्रेमीहरु स्क्रिनमा फुटबल हेर्दै थिए । मञ्चमा कलाकारहरु गीत गाउँदै थिए ।

त्यहाँ ‘फ्राईडे फेशन नाईट’ कार्यक्रम राखिएको थियो । लगत्तै मञ्चमा विभन्न मोडलहरु बल्र्डकप सम्बद्ध देशको जर्सीमा सजिएर उत्रिए । मोडलहरुले अर्जेन्टिना, फ्रान्स, बेलायत, जर्मन, उरुग्वे, मेक्सिको, स्पेन, रशिया, ब्राजिल, बेल्जियम सहित विभिन्न देशको फुटबल जर्सीमा र्याम्पमा क्याटवाक गरे । फ्रान्स जितेर माहौल तातेको बेला फुटबल पारखीहरु ब्राजिल र बेल्जियमको खेलको प्रतिक्षामा थिए ।

यी दुई देशको फुटबल सुरु हुनुअघि र्याम्पमा मोडलहरुले फेशन शो मार्फत वल्र्ड कप फुटबल फिबर बढाए । र्याम्पमा मोडलहरु दिक्षा थापा, निशिका बास्तोला, स्मृति नेपाल, साधना शाही ठकुरी, स्वाती श्रेष्ठ, सरु बुढाथोकी, गेष्मा स्थापित, कामना काफ्ले ठकुरी, अंशु थापामगर लगायत प्रस्तुत भएका थिए ।

यो फेशन शोको कोरियोग्राफी सिर्जुसिंह ठकुरीले गरेकी थिईन् । मोडलहरुलाई स्पोर्टी रुपमा मस्र्याङदी व्युटी हेयर केयर एन्ड स्पा ठमेलकी व्युटिसियन कविता श्रेष्ठले सृँगारेकी थिईन् ।

नेम क्याफेले नियमित रुपमा फ्राईडे फेशन शो गर्दै आएको क्याफे सञ्चालक सुदिप वन्तले बताए । आफ्नो क्याफेमा वल्र्डकप भरी वल्र्डकप लाईभ देखाउँदै आएकाले वल्र्डकप केन्द्रित फेशन शो आयोजना गरिएको पनि सुदिपले जानकारी गराए ।

त्यहाँ फुटवलपारखीहरु मिठो खाना, सुमधुर संगीत, वल्र्डकप फुटबललाईभसँगै फेशन शोको माहौलमा अझ रमाएको देखिन्थ्यो ।