व्युटी न्युज नेपाल
काठमाडौंं, २३ असार

व्यापारीको श्रीमतीको चक्कर पुलिससँग । पुलिसको श्रीमतीको चक्कर अर्की यौनकर्मी महिलासँग । यसरी विभिन्न महिलापात्रहरुको एक अर्काबीचको चक्करले निम्त्याएको समस्यालाई समेटेर चलचित्र चक्कर निर्माण गरिएको छ ।

आगामी ४ साउनमा रिलिज गर्ने घोषणा सहित चलचित्र ‘चक्कर’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । अनुष्क रौनियारको निर्देशनमा बनेको फिल्मको निर्माण टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा अफिसियल ट्रेलर रिलिज गरेको हो ।

काठमाडौंको नेम क्याफेमा शुक्रबार आयोजित पत्रकार भेटघाटका क्रममा यो चलचित्रको ट्रेलर रिलिज गरिएको हो । ट्रेलरमा मुख्य कलाकार एभोनराज उप्रेती र अर्पण थापाको द्वन्द्व देखिन्छ । जसमा अभिनेत्री द्वय सृजना सुब्बा र स्मृति पोखरेलबीच समलिँगीय प्रेमसम्बन्धको दृश्य समेत जोडिएको छ । जसले फिल्मको कथामाथि केहि कौतुहलता पनि छोडेको छ ।

यो फिल्मलाई यसका निर्माता एवम् छायाँकार रविन आचार्यले सेक्स भर्सेज क्राइम फिल्मको रुपमा कार्यक्रममा चर्चा गरे । सिनेमामा पैसा, अपराध र सम्बन्धको चक्कर देखाईएको पनि आचार्यले बताए ।

यो चलचित्रको सम्पादन र निर्देशन अुनष्क रौनियारले गरेका छन् । उनको यो पहिलो निर्देशन हो । कार्यक्रममा निर्देशक अनुष्कले क्राइम ड्रामा तथा सस्पेन्स थ्रिलर जनरामा चक्कर निर्माण गरिएको बताए । नियमित रुपमा बन्दै आएका नेपाली चलचित्र भन्दा केहि पृथक रहेर चक्कर बनाएको उनले बताए ।

अभिनेत्री ऋचाले केहि फरक स्वाद पस्किने फिल्म बनेको र आफुले पहिलो पटक प्रहरीको भुमिका निभाएको भन्दै दर्शकलाइ मन पर्ने खुराकको रुपमा ’चक्कर’ तयार भएको बताइन् । दर्शकले यसबाट फरक स्वाद पाउने र यो फिल्मबाट नेपालका क्राईम जनरा अझ स्थापित हुने अभिनेता अर्पण थापाले बताए ।

अभिनेत्री सृजना सृव्वाले आफुले बिगतमा गरेको भन्दा चक्करको भूमिका फरक भएको बताउँदै यसमा दोहोरो चरित्र निर्वाह गरेकी छु भनिन् ।

चक्करको कथा, पटकथा, संवाद पनि अनुष्कको नै हो । रविन आचार्यको निर्माण तथा छायांकनमा तयार रहेको यो चलचित्रमा संगम पन्त र पुष्प पलाञ्चोकेको संगीत छ । नेशनल मिडिया प्रोडक्सन र केटिएम आर्ट्स हाउस प्रोडक्सनको ब्यानरमा चक्कर बनेको हो ।