वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ अमेरिकामा


व्युटी न्युज नेपाल
न्यूयोर्क, २० असार

चर्चित बृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ (नेपाल अर्थक्वेकः हिरोज, सभाईभर्स एण्ड मिराकल्स) अमेरिकामा प्रदर्शन हुने भएको छ । अमेरिकाको न्यूयोर्क लगायतका शहरमा आगामी दुई साता ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन गर्न लागिएको अमेरिकामा रहेका भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले जानकारी दिए ।

युनाइटेड शेर्पा एशोशिएशनको आयोजनामा यही जुलाई १५ तारिख ३ बजे र जुलाई २० तारिख बेलुकी साँढे ७ बजे ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीका लागि समय तय भएको छ । शेर्पा केदुङ हल ज्याक्शन हाइटमा हुने शोमा नेपाली तथा विदेशी नागरिकहरुको सहभागिता हुने आयोजक युनाइटेड शेर्पा एशोसिएशनका उर्गेन शेर्पाले जानकारी दिए ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।

‘दर्जन भन्दा अन्तर्राष्ट्रिय अवार्ड जितेको तथा १३ वटा विश्व भाषामा अनुवाद भएको यो वृत्तचित्र न्यूयोर्कबासी माझ प्रस्तुत गर्न पाउँदा हामी खुसी छौँ, यो वृत्तचित्र हेर्न नेपालीहरुको व्यापक उपस्थिति हुनेछ आशा छ ।’ उनले भने ।

यसैगरी, अमेरिकाकै न्यूजर्सी राज्यका मेयरको आयोजनामा न्यूजर्सी काउन्सिलमा प्रदर्शनका लागि संचारकर्मी प्रदीप थापामगरले तयारी गरिरहेका छन् भने बाल्टिमोरमा लमजुङ समाज अमेरिकाले प्रदर्शनको तयारी गरेको समाजका अध्यक्ष शशी थापाले जानकारी दिए ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा बाँच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले सन् २०१५ मा अमेरिकाको उइस्कन्सिन युनिभर्सिटी मेडिसन र सिटी युनिभर्सिटी न्यूयोर्कमा प्रदर्शन भएको थियो ।

यसैगरी, सन् २०१७ मा अमेरिकाको एटलान्टा राज्यमा भएको मेरियटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘भाग्यले बाँचेकाहरु’ले उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको थियो । काठमाडौँ अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा पहिलो भएपछि विश्वयात्रा आरम्भ गरेको यस वृत्तचित्र फिल्मले अहिलेसम्म १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।