व्युटी न्युज नेपाल
काठमाडौ, १६ असार

रौतहटको सन्तपुरमा रहेका मुसहर समुदायका लागि सन्तपुर एकीकृत नमुना बस्ती निर्माण गरेकी अभिनेत्री एवम् धुर्मुस–सुन्तली फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) ले आफ्नो जन्मदिन पनि त्यही मनाएकी छिन् ।

१६ असारमा परेको जन्म दिन उनले आफ्नो जन्मदिन यहाँका बासिन्दासँग मनाएकी छन् । त्यहाँका ९२ जना बालबालिकासँग खुसी साटेर उनले आफ्नो जन्मदिन मनाएकी हुन् ।

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित नमुना बस्तीमा आफ्ना श्रीमान सिताराम कट्टेसँगै पुगेकी कुञ्जनाले जन्मदिन मनाउने क्रममा सो नमुना बस्तीमा बसोबास गर्ने मुसहर समुदायका बालबालिकालाई कापी, पेन्सिल तथा स्टेसनरीका समान वितरण गरिन् ।

मुसहर बालबालिकाले पनि सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्मदिनलाई विशेष बनाइदिए । उनीहरूले गरेको सम्मानले आफूलाई भावुक बनाएको कलाकार घिमिरेले बताएकी छन् ।

मुसहर बस्तीका बालबालिकामा आएको परिवर्तन देखेर आफूहरू भावुक बनेको उनको भनाई छ ।

‘जुन परिवर्तनको अपेक्षा गरेका थियौं, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन,’ कुञ्जनाले भनिन् । सो बस्तीमा मुसहर बालबालिकासँग जन्मदिन मनाउन पाउँदा उनी रमाइन् । तर ललितपुरमा रहेकी छोरीलाई सम्झेर उनी भाबुक पनि बनिन् । घरमा छोरीसँगै बसेर केक काट्ने छोरीको रहर यसपाली नमुना बस्तीका बालबालिकासँग बसेर मनाएको बताउँदै उनले भनिन्, ‘यी बालबालिका पनि मेरा नै छोराछोरीसरह भएको हुँदा यसमा नै खुसी भएकी छु ।’

यसैबीच, सिताराम र कुञ्जनाले आफ्नो विवाह उत्सव पनि यही बस्तीमा आएर मनाए । कलाकार तथा फाउन्डेसनका अध्यक्ष सीतारामले जन्मदिनको अवसरमा पत्नी कुञ्जनालाई शुभकामना दिँदै सो नमुना बस्तीका नागरिकको खुसी नै आफुहरुको खुसी भएको बताए ।

उनीहरूकै कारण बस्तीका १२५ भन्दा बढी बालबालिका नियमित विद्यालय जान थालेका छन् । विपन्नता बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सिएको मुसहर समुदायमा धुर्मुस सुन्तलीले यो नमुना बस्ती बनाइदिएपछि उनीहरूको निकै परिवर्तन भएको थियो ।