श्रृष्टीलाई चित्रकार बनायो चलचित्र रोमियो एन्ड मुनाले


व्युटी न्युज नेपाल
काठमाडौं, १५ असार

पूर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्टी श्रेष्ठले आफुलाई रहेक प्रकारको भूमिका मन पर्ने बताएकी छिन् । अघिल्लो फिल्म गाजलुमा पूर्व कुमारीको भूमिका निर्वाह गरेकी श्रृष्टीले नयाँ चलचित्र ‘रोमियो एन्ड मुना’मा एउटा चित्रकार महिलाको भूमिका निर्वाह गरेको खुलाएकी छिन् ।

यी अभिनेत्रीले रोमियो एन्ड मुना प्रदर्शनपछि आफ्नो फिल्मी करियरमा परिवर्तन आउने बताएकी छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘रोमियो एण्ड मुना’मा आफु गाउँले मुनाको भूमिकामा रहेको खुलासा गरिन् । यो फिल्मले आफुलाई बास्तविक रुपमै चित्रकार बनाएको पनि यी अभिनेत्रीले जानकारी गराईन् ।

यो चलचित्रमा आफुले डिप्रेस महिलाको भूमिका निर्वाह गरेको पनि पत्रकार भेटघाटका क्रममा खुलाईन् । विश्व प्रसिद्ध दिवँगत चित्रकार भ्यान गगको प्रसँसक समेत रहेकी श्रृष्टीले चलचित्र रोमियो एन्ड मुनकै लागि ६ महिना चित्रकला सिकेर आफु एम्याचुअर चित्रकार समेत बनेको बताएकी छिन् ।

यो चलचित्रको भिएफएक्सको माध्यमले एउटा गीतमा भ्यान गगको चित्रहरुलाई दृष्यगत रुपमा पुरा प्रयोग गरिएको छ । ती चित्रलाई चित्रकार बिजय शाक्यले पुन बनाएपछि सिनेमामा प्रयोग गरिएको हो । यो चलचित्रमा भ्यान गगको प्रसँसकको भूमिका निर्वाह गर्नु पर्ने भएपछि आफुले बेलायत गएको बेला भ्यान गगको बारेमा पुरा अध्ययन गरेको अनुभव पनि यी अभिनेत्रीले सुनाईन् । भ्यान गगको चित्रबाट प्रभावित भएकै कारण गगका केही चित्रलाई आफुले क्यानभासमा उतार्ने अभ्यास गरेको पनि श्रृष्टीले सुनाईन् ।

श्रृष्टीको भनाईमा अघिल्लो फिल्म गाजलुमा उनलाई अनमोल केसीको नायिका भनेर सम्बोधन गर्थे । तर अब रोमियो एन्ड मुना रिलिज भएपछि दर्शकले आफुलाई बिनयको नायिका भनेर सम्बोधन गर्ने विश्वास यी अभिनेत्रीको छ ।

उनले रोमियो एन्ड मुनामा विनय श्रेष्ठसँग रोमान्स गरेकी छन् । अनमोल र विनयसँग अभिनय गर्दा उस्तै–उस्तै अनुभव भएको पनि उनले सुनाइन् । अनमोल र विनय दुवैको व्यवहार उस्तै भएको र कामको समयमा दुबैबाट राम्रो साथ पाएको पनि यी अभिनेत्रीले बताईन् ।

११ साउनबाट प्रदर्शनमा आउने चलचित्र रोमियो एन्ड मुनालाई निर्माता प्रसन्नमान गोपाली लगायतले राम्रो बनाउन कुनै कम्प्रमाईज नगरेको पनि यी अभिनेत्रीको कथन छ । निर्देशक नरेश कुमार केसीको कामबाट आफु निकै प्रभावित भएको र यो चलचित्रमा आफुले धेरै नयाँ कुरा सिक्ने पाएको पनि श्रृष्टीले खुलाईन् ।

रोजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य समेत निर्माता रहेको यो चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की र सुरक्षा पन्तले समेतको अभिनय रहेको छ ।