प्रज्ञा प्रतिष्ठानहरुलाई झन प्रभावशाली बनाउँछु – संस्कृति मन्त्री अधिकारी


व्युटी न्युज नेपाल
काठमाडौं, १३ असार

केही दिन अघिसम्म तीन ओटै प्रज्ञा प्रतिष्ठान गाभ्ने पक्षमा सरकार रहेको बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी भने तीनओटै प्रज्ञा प्रतिष्ठानलाई अलग अलग रुपमा झन प्रभावशाली बनाउने पक्षमा छन् । यी तीन ओटै प्रतिष्ठान ससक्त बनाएर लैजाने बचन यी मन्त्रीले दिएका छन् । काठमाडौंको बालुवाटरस्थित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको भ्रमणका क्रममा बुधबार संस्कृति मन्त्री अधिकारीले यस्तो भनाई व्यक्त गरेका हुन् ।

सो क्रममा मन्त्री अधिकारीले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको भ्रमण गरे । उनले सो प्रतिष्ठानको अबस्था र क्रियाकलापबारे जानकारी लिए । भेटघाटका क्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भुजीत बासकोटा र प्राज्ञहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा यस प्रज्ञा प्रतिष्ठानका संरक्षक रविन्द्र अधिकारीलाई स्वागत गरे । कुलपति सरुभक्तले मन्त्रीलाई प्रतिष्ठानको प्रतिक चिन्ह पनि प्रदान गरे ।

यस्तै उपकुलपति शम्भूजीत बासकोटाले प्रज्ञा प्रतिष्ठानको संरचना र निकै कम साधन र स्रोतमा यसले गरेका विभिन्न कार्यहरुबारे मन्त्री अधिकारीलाई जानकारी गराए ।

संस्कृति मन्त्री अधिकारीले सिमित साधन र स्रोतबाट नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत धेरै काम भएको भन्दै यस प्रज्ञा प्रतिष्ठानको लागि भवन निर्माणमा पहल गर्ने प्रतिबद्धता जनाए ।

सो क्रममा प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित विभिन्न पुस्तक तथा अन्य प्रकाशनहरु मन्त्रीलाई हस्तान्तरण गरियो ।

यसै गरी राष्ट्रिय सभाका सदस्य तथा प्राज्ञ खेम नेपालीले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको महत्वबारे आफ्नो भनाई राखे ।

सो प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेशरञ्जन झा, माधव प्रधान, उदयचन्द्र श्रेष्ठ, उन्नती बोहरा ‘शीला’ले आ–आफ्नो विभागले गरेका विभिन्न कार्यक्रम तथा परियोजनाबारे मन्त्री अधिकारीलाई प्रकाश पारे ।