अभिनेत्री स्वस्तिमा टेम्पो चालक, बन्ने भयो बुलबुल


व्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

अवेकन आइजको प्रोडक्सनले फिल्म ‘बुलबुल’ निर्माण गर्ने भएको छ । साउनको पहिलो साताबाट छायाँकन सुरु हुने यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का ट्याम्पो ड्राइभरको भूमिकामा देखिने भएकी छिन् ।

यसको लागि उनले टेम्पो चालकको प्रशिक्षण लिएर सडकमा टेम्पो चलाउँदै यात्रु समेत बोकिसकेको बताएकी छिन् ।

स्वस्तिमाका अनुसार उनी एक मजदुर महिलाको भूमिकामा देखिन लागेकी हुन् । फिल्मकोे मुख्य भूमिकामा देखिन लागेकी स्वस्तिमाले यो फिल्म आफ्ना लागि विशेष भएको जिकिर गर्दै बुलबुल आफ्नो कारणले मात्र नभइ टिमकै कारण राम्रो सिनेमा बन्ने बताइन् ।

टेम्पो चालकको बाहिरी भित्री दुवै यात्राको कथा रहने फिल्मलाई बिनौद पौडलेले निर्देशन गर्नेछन् । अस्कर कलेजका प्रिन्सिपलसमेत रहेका पौडेलले यसअघि ‘साँघुरो’को कथा पटकथा लेखेका थिए । उनले लघू फिल्म अबेकन आईज निर्देशन पनि गरेका थिए ।

बुलबुलको कथा, पटकथा पनि बिनोदकै हो । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा स्वस्तिमासँगै जोयस पाण्डे, मुकुन भुसाल, लक्ष्मी बर्देवा, दीपक क्षत्री, उज्वल अधिकारी, आशिका पाण्डेसहितका कलाकारको अभिनय रहने छ ।

कोेशिश क्षेत्री र उदगम परियारको सगीत रहेको यो चलचित्रमा निश्चल बस्नेत र रजिना रिमालको स्वरमा गीत रहने छ ।

घोषणा कार्यक्रममा बोल्दै निर्देशक पौडेलले फिल्मले एक खाले समाजको दैनिकीलाई दुरुस्त उतार्ने बताए । नेपाली फिल्मकोे दृश्य भाषा र प्रस्तुतिलाई लिएर उठाइँदै आएका प्रश्नहरू मध्ये फिल्मले ५१ प्रतिशत प्रश्नको उत्तर दिने निर्मातामध्येका एक अबिरल थापाले सो कार्यक्रममा दाबी गरे ।