१५ असारबाट आदिबासी फिल्म होत्सब, देखाइँदै १४ सिनेमा


व्युटी न्युज नेपाल
काठमाडौं, १२ असार

‘दोस्रो आदिवासी जनजाति चलचित्र महोत्सव–२०७५’ यही १५ असारबाट काठमाडौंमा हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले १५ असारदेखि तीनदिनसम्म महोत्सब आयोजना गर्दैछ । राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै महासंघले महोत्सबबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अमृत सुनुवारले चलचित्र क्षेत्रमा राज्यको आदिवासी जनजाति मैत्री निती माग बुलन्द गर्दै महोत्सवको आयोजना गर्न लागिएको हो भने, ‘राज्यले आदिवासी जनजाति मैत्री वातावरण तयार गरोस् भन्ने हाम्रो चाहना हो, उनले अगाडि थपे,‘यस महोत्सवबाट चलचित्रको माध्यमबाट हामी राज्यलाई आदिवासी जनजाति चलचित्रकर्मीको वास्तविक अवस्था र मर्काको बारेमा जानकारी गराउन चाहन्छौं ।’

अध्यक्ष सुनुवारले २०४४ सालमा नेपाल भाषाको चलचित्र ‘सिलु’ शुरु हुँदा चलचित्रसम्बन्धी जस्तो नीति थियो, त्यसमा हालसम्म पनि खासै केहि परीवर्तन नभएको बताए । जनजाति चलचित्रले पनि दर्तादेखि सेन्सरसम्म नेपाली भाषाका ठुला चलचित्र सरह नै दस्तुर तिरेर प्रक्रिया भने जानुपर्ने तर प्रदर्शन गर्न हल नपाइने परिस्थितीका कारण यस क्षेत्रको समुचित विकास हुन नसकिरहेको अध्यक्ष सुनुवारको भनाई छ ।

काठमाडौंका प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा हुने दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवमा १४ ओटा चलचित्र प्रदर्शन हुँदैछन् । महोत्सवमा प्रदर्शित एक चलचित्रलाई दर्शकहरुबाट प्राप्त भोटको आधारमा २५ हजार नगद, ट्रफि र प्रमाण पत्र सहितको पब्लिक च्वाइस अवार्ड प्रदान गरीने छ ।

महोत्सवमा प्रदर्शन हुने सबै चलचित्रलाई प्रोत्साहन स्वरुप ५ हजार नगद प्रदान गरिने छ । महोत्सवको उद्घाटन सत्रमा विभिन्न आदिवासी जनजातिको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति रहनुका साथै जनजाति समुदायको परिकारहरुको स्टल पनि राखिने महासंघले जनाएको छ ।

महोत्सबमा प्रर्दशन हुने चलचित्रहरु –

१. मैरिमो (गुरुङ)         निर्देशक – भोजबहादुर गुरुङ
२. लदी पुजा (माझी)     निर्देशक – बिन्दु माझी
३. टिन्छेन फमा (शेर्पा)  निर्देशक – आङ ङिमा शेर्पा
४. दुलारी (राजबंशी)      निर्देशक – बिनोद पुडासैनी
५. ढ्वाङकुम (राई)        निर्देशक – सन्त कुमार राई
६. गो सु नङा (सुनुवार)  निर्देशक – शिब मुखिया (सुनुवार)
७. टुटल जिन्गी (थारु)   निर्देशक – कृष्ण चौधरी
८. पा (गुरुङ)                निर्देशक – जितमान गुरुङ
९. मन्दरा (थारु)          निर्देशक – मदन चौधरी
१०. रैयाँ (मगर)           निर्देशक – मेजन पुन मगर
११. मायासे लासी–३ (तमाङ) निर्देशक – डि बि मोक्तान
१२. कमल पोखरी (नेवार) निर्देशक – संजोग लाफा मगर
१३. तापलय (नेवार)   निर्देशक – बाल मुकुन्द प्रजापती
१४. तमसुक (मगर)    निर्देशक – हिमाल पुन