न्युज नेपाल
काठमाडौं, १० असार

अग्रज साहित्यकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ उपन्यास ‘अतिरिक्त’ र गीतिसँग्रह ‘प्रणय’ पाठक, स्रोतामाझ ल्याएका छन् । उनका यी कृतिको राजधानीमा एक समारोहबीच सूचना तथा सञ्चार मन्त्री गोकुल बाँसकोटा सहित अग्रज गायक प्रेमध्वज प्रधान, संगीतकार दिपक जंगम, गीतकार दिनेश अधिकारी, संगीतकार बुलु मुकारुङ, संगीतकार चण्डी काफ्ले, कानुनविद् तथा गायक डा. भीमार्जुन आचार्य, सांसदहरु रामेश्वर राय यादव, सरिता गिरी, इन्दु शर्मालगायतले सँयुक्त बिमोचन गरे ।

मन्त्री बाँसकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै डा. उपाध्यायको गीतिसँग्रहमा सबै भावका गीत भएको बताए । उनले उपन्यासको पनि प्रसँसा गरे ।

सानै देखिको लेखन रहरलाई अगाडी बढाउदै आफु गीतकार र साहित्यकार बनेको स्रष्टा डिआरले कार्यक्रममा बतााए । पुस्तक लेखनमा लामो समयदेखि सक्रिय भए पनि गीत लेखन भने यो नै पहिलो भएको पनि उनले बताए ।

गीतिसँग्रहमा रहेका गीतमा संगीतकार सागर अधिकारी ‘शरद’को एकल संगीत छ । जसमा ६ गीत संग्रहित छन् । गीतमा संगीतकार सागरसँगै सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रमोद खरेल, राम चन्द्र काफ्ले, मेलिना राई, मिलन अमात्य, सुरेश लामाको स्वर छ । गीतिसँग्रह प्रणयमा कसले भन्छ…, तिमि बिना…, आउ नआउ…, आफ्नै छायाँले…, हाम्रो मधुर मिलन… र चौबन्दी चोली…बोलका गीत संग्रहित छन् ।

राजधानीमा आयोजित बिमोचन कार्यक्रमलाई सञ्चारकर्मी नरेश भट्टराईले सँचालन गरेका थिए । जहाँ एल्बममा समावेश गीतको भिडियो समेत देखाइएको थियो । कार्यक्रममा प्रदर्शित गीत कसले भन्छ…को भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन् । यसमा गीतकार डिआर आफैं देखिएका छन् । उनलाई अनु शाहले मोडलिङमा साथ् दिएकी छिन । भिडियोलाई बिदुर पाण्डेले खिचेका हुन् भने यसलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।