तीन प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थान नगाभ्ने संस्कृति मन्त्रीको भनाई


व्युटी न्युज नेपाल
काठमाडौं, ९ असार

आगामी आर्थिक बर्षको लागि बजेट भाषणमा गत महिना नेपाल सरकारले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगै सांस्कृतिक संस्थानलाई पनि गाभेर एउटै बनाउने घोषणा गरेको थियो ।

सो घोषणाको सर्वत्र विरोध भईरहेको बेला संस्कृति मन्त्री रबिन्द्र अधिकारीले तीन ओटा प्रज्ञा प्रतिष्ठानलाई एउटै बनाउने योजना तत्काल नरहेको बताएका छन् । राजधानीमा सुरु भएको ज्योतिरीश्वर रङ्ग उत्सव–२०७५को शुक्रबार दिउँसो उद्घाटन गर्दै संस्कृति मन्त्री अधिकारीले तीन ओटा प्रतिष्ठानलाई गाभेर एउटै बनाउनु पर्ने पक्षमा आफु नरहेको बताएका छन् । उनले अहिले यसबारे चिन्ता नलिन पनि आग्रह गरेका छन् ।

सो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले  भने,‘केन्द्र सहित प्रदेशमा समेत प्रतिष्ठानहरु बिस्तार गर्नु पर्ने भएकाले धेरै ओटा शाखाहुँदा आर्थिक भार पर्ने देखिएपछि एउटै बनाउनेकी भन्नेमा सरकार पुगेको हो । यस बारेमा के गर्ने भनेर बृहत छलफल गर्नु पर्ने भएकाले तत्काल तीन ओटै प्रज्ञा प्रतिष्ठान गाभिएर एउटै बन्दैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले आफु संस्कृति प्रेमी मन्त्री भएकोले आफ्नो कार्यकालमा यसरी प्रतिष्ठानलाई खुम्च्याएर एक बनाउने कार्य नहुने भन्दै आश्वस्त पारे ।

सांस्कृतिक संस्थान सहित तीन ओटा प्रतिष्ठान एक बनाउने विषयमा सांसद खेम नेपालीले कार्यक्रममा यस बारे केहो भनेर आबाज उठाएपछि मन्त्री अधिकारीले प्रतिष्ठान नगाभिनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), उपकुलपति शम्भुजीत बासकोटा, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापासहित विभिन्न नाट्यकर्मी तथा संगीतकर्मीहरुले मन्त्री अधिकारीको सो भनाईको तालीले स्वागत गरे ।

कार्यक्रमलाई निरन्तर सम्बोधन गर्दै मन्त्री अधिकारीले आफु नाटक प्रेमी भएको र नेपालमा नाटकसम्बन्धि कामहरु अझै निकै कम भएको बताए । नेपाल र भारत दुई देश सहभागी यो नाटक उत्सबले युवा पुस्तामा पनि नाटकप्रति आकर्षण जगाउने बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको बत्तिस पुतली स्थित शिल्पी थिएटरमा यो उत्सब सुरु भएको हो । उत्सबमा यसपटक नेपाल र भारतका ६ ओटा नाटक मञ्चन गनै लागिएको प्रतिष्ठानका कुलपति सरुभक्तले बताए । नाटक मार्फत नेपाल र भारतको अन्तर सीमा संस्कृति विस्तारका लागि यो नाटक उत्बस आयोजना गरिएको पनि कुलपति सरुभक्तले प्रकाश पारे ।

सो उत्सबका संयोजक एवम् नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य रमेश रञ्जान झाले १३०५ सालमै सिमरौनगढका नाटककार ज्योतिरीश्वर ठाकुरले लेखेको नाटकको पाण्डुलिपी अहिले पनि हामीसँग सुरक्षित भएको बताए । त्यही नाटक उत्सबमा मञ्चन गरिने भएकाले उत्सबको नाम ज्योतिरीश्वर रँग उत्सब राखिएको बताए ।