आयो रोमियो एन्ड मुनाको ट्रेलर


व्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

चलचित्र ‘रोमियो एन्ड मुना’को ट्रेलरलाई सार्वजनिक गरिएको छ । आगामी ११ साउनबाट प्रदर्शनमा आउने भनिएको यो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । अभिनेत्री श्रृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको रोमान्स रहेको सिनेमा हल र युट्युबबाट ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा समेटिएको रोमान्स, प्रेम, वियोग र एक्सनले दर्शकमा कौतुहलता जगाउने विश्वास निर्माण पक्षको छ । ट्रेलरमा विनय र श्रृष्टिको रोमान्स र वियोगसँगै उनीहरुको भीएफएक्स राक्षसी रूप पनि प्रस्तुत गरिएको छ । ट्रेलरलाई दर्शकले मन पराएको निर्माता प्रशन्न गोपालीले बताए ।

नरेशकुमार केसीको निर्देशन रहेको चलचित्र रोमियो एन्ड मुनामा प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्य निर्माता रहेका छन् । विनय र श्रृष्टिसँगै सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्वल सुजल गिरीलगायतको अभिनय छ । चलचित्रको बाँकी एउटा गीतको छायांकन सकेर आफूहरु बिहीबार नै काठमाडौं फर्किएको पनि निर्माता गोपालीले बताए । उनका अनुसार अब निर्माण टिम चलचित्रको प्रचारमा जुट्ने छ ।