फ्राईडे रिलिज

व्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

राजधानी र मोफसलका ७५ ओटा सिनेमा हलमा शुक्रबार ८ असारबाट ‘तिमी हुन्छौ जहाँ जहाँ’ प्रदर्शनी हुने भएको छ । यो चलचित्रलाई विकाश बस्यालले निर्देशन गरेका हुन् । विकाशका अनुसार चलचित्र तिमी हुन्छौ जहाँ जहाँ प्रेम कथामा आधारित छ । त्रिकोणात्मक प्रेमकथा भनिए पनि यसमा आदर्श प्रेम प्रस्तुत गरिएको पनि उनले बताए ।

यस पटक अर्को नेपाली चलचित्र नभएकाले एक्लै प्रदर्शनमा आउन लागेको यसका निर्माता मदन दवाडीले जानकारी गराएका छन् । उनका अनुसार सिनेमा मुलुकका बहुसँख्यक सिनेमाहलमा आउँदैछ । अहिलेका पुस्तालाई लक्षित गरेर यो चलचित्र निर्माण गरिएकाले तिमी हुन्छौ जहाँ जहाँले दर्शकको मन जित्ने जिकिर निर्माता मदनको छ ।

यो चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । यो चलचित्रमा वर्षा शिवाकोटी अतिथि भूमिकामा छिन् ।

यो साता बुटबल, नारायण घाट, हेटौंडा, बिराटनगर, इटहरी, धरानलगायतका शहरमा विभिन्न कार्यक्रम सहित मोफसल यात्रा गरेको यो चलचित्रको शिर्ष गीत यतिबेला चर्चामा छ । यो चलचित्रलाई मदनसँगै डालचन्द्र दवाडी, प्रकास बास्कोटा र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् ।

तिमी हुन्छौ जहाँ जहाँलाई रामशरण उप्रेतीको छायाँकन गरेका हुन् । जसमा कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।