अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई चीनले सघाउने


व्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) लाई चीनको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले सघाउने भएको छ । नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा गत वर्षदेखि शुरु भएको हो ।

चीनको शांघाइमा अहिले भईरहेको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपालका तर्फबाट भाग लिन गएका नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठक र सो चलचित्र महोत्सव अन्तर्गतको बेल्ट एण्ड रोड फिल्म फेस्टिभल अलाएन्सेस बीच औपचारीक रुपमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चीनका राष्ट्रपति सी जिनपिंगले अघि सारेको वन बेल्ट वन रोड विश्व भाइचारा सिद्दान्त अन्तर्गत रहेर चलचित्रको माध्यमबाट संसारका राष्ट्रहरु बीच एकापसमा भाइचारा कायम गर्ने उद्देश्य रहेको छ । सोही अनुसार अघि बढाएको यो बेल्ट एण्ड रोड फिल्म फेस्टिभल समुहमा विश्वका विभिन्न ३१ राष्ट्रहरुको संलग्नता छ । अब नेपाल पनि त्यसमा संलग्न भएको छ । यो सम्झौता अनुसार चीनले नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले आयोजना गर्ने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई विभिन्न रुपमा सघाउने भएको छ ।

यसरी संलग्न भएपछि नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवकोलागि आवश्यक पर्ने विज्ञदेखि लिएर अन्तर्राष्ट्रिय स्तरका चलचित्रहरु समेत चीनले सो संलग्नताको माध्यमबाट उपलब्ध गराउने केपी पाठकले जानकारी गराएका छन् । यसरी अन्तर्राष्ट्रिय ख्याति प्राप्त चलचित्र महोत्सवको संजालमा संलग्न हुन पाउँदा आफुले गौरवान्वित महसुस गरेको बताउने पाठकले यसले नेपालको चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुग्न सघाउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अब २०१९ फेब्रअरी २१ तारीख देखि २४ तारीखसम्म चार दिने काठमाडौंमा हुने छ । प्रतिष्ठानका उपाध्यक्ष विजयरत्न तुलाधरका अनुसार दोश्रो संस्करणका लागि चलचित्र सहभागी गराउन आह्वान यस अघि नै गरिएको छ ।