चारदाम देखाउँदै सकियो सेलो नाट्य महोत्सव


व्युटी न्युज नेपाल
काठमाडौं, ५ असार

काठमाडौंको बत्तिस पुतली स्थित शिल्पी थिएटरमा आयोजित सेलो नाट्य महोत्सव–२०७५ दुई लोक, एक कविता र दुई आधुनिक गरी पा“चवटा नाटक मञ्चन गर्दै सकिएको छ । महोत्सबको अन्तिम दिन सोमबार नाटक चारदाम मञ्चन गरियो ।

भाषाविद् अमृत योञ्जनले चारदाम करिब तीन दशकअघि नाटक लेखेका थिए । तामाङ समुदायमा विवाह संस्कारको चुरो मानिने चारदाम विधिमाथि लेखिएको यही नाटकको परिमार्जित संस्करण मञ्चन गर्दै सेलो नाट्य महोत्सव–२०७५ को मैझारो भएको हो । महोत्सब तीन दिन चल्यो ।

योञ्जनको मञ्चित यो नाटकमा चारदाम संस्कृृतिलाई केन्द्रमा राखी सहरी र ग्रामीण समाजबीच भएको सांस्कृतिक अन्तरद्वन्द्व समेटिएको थियो । संस्कृति संरक्षण गर्नुपर्छ र पर्दैन भन्ने दुई विपरीत धारणालाई बेहुला र बेहुली पक्षको रूपमा प्रतीकात्मक प्रस्तुति गरिएको नाटकले मौलिक ज्ञान र सांस्कृतिक पहिचानको पक्षमा वकालत गथ्र्यो ।

‘२०४६ सालमा पहिलो पटक मञ्चन गरिएको यो नाटक अहिले परिमार्जनसहित नयाँ अवतारमा देख्न पाउँदा खुसी लाग्यो,’ भाषाविद् योञ्जनले भने । निशा पाख्रिन र सन्तोष तामाङ ‘बोन्बो’ ले निर्देशन गरेको नाटकमा चाँदनी लामा, फूलकुमार बमजन, सुसन लामा, शान्ति वाइबा, सोनाम लामा मोक्तान, निशा, निकिता वाइबा, सन्तोष, विजय टुबा, मनोज तामाङ, सञ्जीव राई, देविन चौधरी, सुनील तामाङ, साजन लामा, विजय टुबालगायतको अभिनय थियो ।

आधुनिक सञ्चारका कारण नेपाली समाजमा प्रभाव जमाउँदै गरेको हिन्दी गीतको संस्कृतिप्रति पनि नाटकले व्यंग्य गरेको थियो ।

त्यस्तै, अन्तिम दिन रोशन फ्युबाले संयोजन गरेको गणेश हिमाल आसपासको तामाङ समाजमा प्रचलित लोक नाटक ‘ल्हालिमो’ पनि देखाइयो । यो लोक नाटकमा पुरानो पुस्ताको प्रेमकथा र प्रेम गर्ने शैली देखाइएको थियो । लामा साक्षी राखेर गीत गाउँदै फिनी (काइँयो) र फोस्र्यो (हातेबुना झोला) उपहार साटासाट गर्दै आफ्नो जीवनसाथी रोज्ने चलन नौलो र रोचक लाग्थ्यो । नाटकका संयोजक फ्युबाका अनुसार ‘लोक नाटकको रूपमा गणेश हिमाल आसपास यो संस्कृति अझै जिउँदै छ ।’

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको प्रस्तुति रहेको नाटकमा रोशनसँगै मनोज लोप्चन, सिंगबहादुर तामाङ, प्रकाश तामाङ, सन्देश तामाङ, सुभ सन्तोश तामाङ, विकल तामाङ, मुस्कान तामाङ, डिम्पल तामाङ, रेशा तामाङ र विनीता तामाङले अभिनय गरेका थिए ।

महोत्सवको समापन समारोहमा कानुनमन्त्री शेरबहादुर तामाङले मुलुकभित्र रहेका हरेक जातजातिको मौलिकता संरक्षण र प्रवद्र्धन हुन सके समग्र नेपाली संस्कृतिको ढुकुटी भरिभराउ हुने बताए ।

अचेल जुनसुकै सांस्कृतिक कार्यक्रम ‘तामाङ सेलो’ विना अधुरो रहने गरेको आफूले देखेको बताउँदै यही नामबाट नाट्य महोत्सव नै गरेकोमा मन्त्रीले आयोजकको प्रशंसा गरे । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले गरेको महोत्सवमा मौलिक खाना, ताम्बा संस्कृति, भेषभूषा र पुस्तक प्रदर्शनीसमेत गरिएको थियो । प्रतिष्ठानका कुलपति सरूभक्तले  मुलुकमै यति सघन सांस्कृतिक मौलिकतासहित पहिलो पटक महोत्सव हुन सकेको दाबी गरे ।

आफूहरुले पहिलोपटक सेलो नाट्य महोत्सव गरेको र यसलाई हरेक बर्ष निरन्तरता दिन प्रयास गर्ने सेलो फाउन्डेशनका अध्यक्ष जगत तामाङले जनाए ।

प्रतिष्ठान रंगमञ्च विभाग प्रमुख एवं प्राज्ञ पुष्कर गुरुङले गतवर्ष गुरुङ समुदाय केन्द्रित भएर ‘रोधी महोत्सव’ गरेको र यसपटक तामाङ समुदायलाई छानेको खुलाए ।

अन्तिम दिन रोशन फ्युबाले ल्हाप्साङकर्पो (गणेश हिमाल) आसपासमा प्रचलित लोक नाटकसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । लेखक विगेन्द्र वाइबा तामाङले टिप्पणी गरेका थिए ।