राजेशलाई जन्मदिनमा नयाँ फिल्म, बढ्दो उमेर गिर्दो शाख


व्युटी न्युज नेपाल
काठमाडौं, २७ जेठ

अभिनेता राजेश हमाल पछिल्लो समय चलचित्र बिहिन छन् । यिनै अभिनेताले शनिबार आफ्नो ५५ औं जन्मउत्सब आफ्नै निवासमा केक काटेर मनाए । उनलाई जन्मदिनको अबसरमा निर्देशक दिनेश श्रेष्ठले केट खुवाउँदै नयाँ फिल्मकालागि अनुबन्धित गरे । यो चलचित्र मंसिरबाट छायाँकन हुने निर्माण पक्षले खुलासा गरेको छ । तीन वर्ष अघि दिनेशकै चलचित्र शकुन्तलामा अभिनय गरेका राजेशले त्यसपछि फिल्म पाएका छैनन् ।

अब बन्ने नयाँ फिल्मकालागि राजेश ७ महिना स्क्रिप्टमा बसेको बताईएको छ । निर्माण पक्षले यो ठुलो बजेटको फिल्म हुने दाबी गरेको छ । यो फिल्म अनिल पाण्डे, प्रिन्स युवराज कार्की र शिवराज कार्कीले बनाउने निर्देशक श्रेष्ठले बताए ।

५५ औं जन्मोत्सब मनाउँदै गर्दा राजेश अहिले पनि चलचित्रमा नायककै भूमिकाको खोजीमा छन् । उनलाई चरित्र भूमिकामा प्रस्ताव नआएका हैनन् । तर उनले यस्ता प्रस्तवा स्विकारेका छैनन् । एक समय वर्षमा एक दर्जनसम्म फिल्म खेल्ने यी अभिनेताको फिल्मी साख पछिल्लो समय गिर्दै गएको छ ।

नेपाली चलचित्रको स्वरुप र प्रस्तुतिकरण परिवर्तन हुनु तर अभिनेता हमालले सो अनुसार आफुलाई परिवर्तन गर्न नसक्नुले पनि उनी पछिल्लो समय चलचित्र बिहिन हुनु परेको विश्लेषकहरुको भनाई छ । त्यसैले आजकाल उनी चलचित्रको छायाँकन नभएर विभिन्न कार्यक्रमको आतिथ्यमा व्यस्त रहने गरेका छन् ।

२०४७ सालमा छबिराज ओझाले निर्माण गरेको चलचित्र युग देखि युगसम्मबाट अभिनेता राजेश हमालले नेपाली चलचित्रको यात्रा सुरु गरेका हुन् । यो २८ वर्षलामो यात्रामा करिब दुई दशक उनले नेपाली सिनेबृत्तमा एकछत्र राज गरे ।