जन गायक रामेशको गायनमा प्रधानमन्त्री अाेली लठ्ठिए


व्युटी न्युज नेपाल
काठमाडौं, १९ जेठ
जनताका गायक रामेश श्रेष्ठले आफ्ना कालजायी गीतबाट प्रधानमन्त्री केपी शर्मा ओली सहित संगीतप्रेमीलाई लठ्ठ पारेका छन् ।

गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक संस्थान ‘राष्ट्रिय नाचघर’ले शनिबार आयोजना गरेको जनगायक रामेश श्रेष्ठको एकल गायन ‘युगीन आवाज’मा उनले प्रस्तुत गरेका गीतहरूमा प्रधानमन्त्री ओलीदेखि सबै संगीतप्रेमीसम्म लठ्एिका हुन् ।

उनले जब गाउँ गाउँबाट उठ…गीत गाए । कार्यक्रममा रहेका प्रधानमन्त्री ओलीले तालीले साथ दिए । ओलीसँगै सबैले रामेशलाई तालीले निरन्तर साथ दिए । नेपालीका विभिन्न भाषासहित विदेशी भाषामा समेत रेकर्ड भएको यो गीतले साँच्चै सबैलाई मन्त्रमुग्ध तुल्याएको थियो ।

राष्ट्रिय नाचघरको प्रेक्षालयमा रामेशको कार्यक्रम हेर्न पुगेका दर्शकहरू खचाखच भरिएका थिए । त्यो ऐतिहाँसिक कार्यक्रममा दर्शक नाचघरको मुख्य हल, बालकोनी र सिँढीमा समेत नअटेपछि हलबाहिर दर्शकलाई प्रत्यक्ष प्रसारण हेर्ने स्क्रिन सहित व्यवस्था मिलाइएको थियो । कतीपय दर्शकले बाहिर स्क्रिनमै हेरेर रामेशको एकल साँझको आनन्द लिए ।

करिब ३ घण्टाको बसाइमा आफ्नो एकल साँझमा गायक रामेशले १५ वटा आफ्ना नयाँ तथा पुराना गीत सुनाए । उनले हरेक गीत प्रस्तुत गर्दा त्यो गीतको सिर्जना पृष्ठभूमि र गीतको महत्व तथा त्यसले ल्याएको परिवर्तनको चर्चा गरे ।
रामेशलाई प्रत्यक्ष गायनमा उनका साथी रायन, श्याम तमाेट, उदय श्रेषठ, मधु गुरुङलगायतले पनि साथ दिए ।

युगीन आवाज एकल साँझमा रामेशले हिमगिरी मण्डित…, तिमी देऊ तिम्रा हातहरू…, मेरो देश खोज्दै जाँदा…, ओ जनता महान…, ऋतु गीत…, आर्यशील जिन्दगी…, ओलाङचुङगोला…, मेरो प्यारो ओखलढुंगा… प्रस्तुत गरे । यस्तै, भोकै मर्ने महाकविका…, रोक्ने को हो दूरदर्शी…, हामी जित्नेछौं…, पूर्वबाट उदायो…, कति राम्रो छ नेपालीको मन…, एकले थुकी…सहित कार्यक्रमको अन्त्यमा गाउँगाउँबाट उठ…गाएका थिए ।

उनले यसरी गीतसँगै त्यो गीतको सृजना र त्यसको भावलाई प्रस्तुत गर्दा कार्यक्रममा दर्शकलाई गीतसँगै गीतिकथा सुनेको महसुस भएको थियो ।

उमेरले ७४ वर्ष पुगेका गायक रामेशले ३ घण्टा उभिएर युवा जोशमा आफ्ना १५ वटा गीत सो कार्यक्रममा निरन्तर प्रस्तुत गरे । उनका हरेक कार्यक्रममा मन्त्री, नेतादेखि सर्वसाधारणसम्मले तालीले साथ दिएका थिए ।

पाँच दशकभन्दा लामो समयदेखि गाउँबस्ती घुमेर जनताका गीत गाएर सामाजिक, राजनीतिक रूपान्तरणमा रामेशले पुर्याएको योगदानको कदरस्वरूप उनलाई संस्कृति मन्त्रालय (सांस्कृतिक संस्थान) का तर्फबाट अभिनन्दन गरियो ।

संस्थानका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले रामेशलाई कार्यक्रममा अभिनन्दन गरे । प्रधानमन्त्री ओलीसँगै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृतिमन्त्री रबिन्द्र अधिकारीसम्मले रामेशलाई अभिनन्दन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले जनता जगाउने कलाकारको खोजीमा आफू २०२६ सालतिर जेबी टुहुरे र लव प्रधानलाई भेट्न मधुमल्ला गएको प्रसंग सुनाए । कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘२०३० सालमा म जेल परेको थिएँ र जेलमा हामी जित्नेछौं एक दिन भन्ने गीत सम्झिएर आत्मविश्वास घटेन ।’

प्रधानमन्त्री ओलीले जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । रामेशहरूले देशका लागि गाएको गीतले सार्थकता पाएको बताउँदै सबैको योगदानले देशमा परिवर्तन आएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब हामी समृद्ध नेपाल, सुखी नेपाली बनाउछौं । कलाकारहरूले अब निराशाका गीत गाउनुपर्दैन ।’

प्रधानमन्त्री ओलीले रामेशलाई गाउँ गाउँबाट उठ…गीतलाई अब देश निर्माणका लागि नयाँ भागका रूपमा ल्याउँदै जनतालाई फेरि जगाउन पनि आग्रह गरे ।

सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको निर्देशनमा तयार भएको रामेश श्रेष्ठबारेको वृत्तचित्र सो कार्यक्रममा प्रिमियर गरियो । कार्यक्रममा रामेशलाई २४ जना सँगीतकर्मी र एक दर्जन भन्दा बढी गायक गायिकाले प्रत्यक्ष गायनमा साथ दिएका थिए ।