कालिप्रसादलाई राष्ट्रिय स्रष्टा सम्मान गरिंदै, वर्षका १० उत्कृष्ट गीत सार्वजनिक


व्युटी न्युज नेपाल
काठमाडौं, १५ जेठ
गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टा सम्मानबाट यस वर्ष वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई सम्मानित गर्ने निर्णय गरेको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर मँगलबार संघले आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै साे सम्मानको घोषणा गरेको हो ।

यस वर्षबाट राष्ट्रिय स्रष्टा सम्मानको अगाडि गीतकार अमर वान्तवा राईको नाम जोड्दै ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७४’ प्रदान गर्ने निर्णय गरेको छ । गीतकार राईले गीतकार संघ नेपालको कोषमा १५ लाख रुपैयाँ राख्दै कोष बृद्धि गरिदिएकोमा संघले उक्त निर्णय गरेको संघका अध्यक्ष चुडामणी देवकोटाले बताए । रिजाललाई एक लाख एक रूपैयाँ सहित सम्मान गरिनेछ ।

वरिष्ठ गीतकार एवं निर्देशक यादव खरेल, वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठ र संघका अध्यक्ष चुडामणि देवकोटाको छनौट समितिले वरिष्ठ गीतकार रिजाललाई राष्ट्रिय स्रष्टा सम्मान दिने निर्णय गरेको हो ।

२०५४ सालकाे उत्कृष्ट वर्ष गीत पुरस्कारको उत्कृष्ट १० गीतहरुको सूची पनि साेही क्रममा सार्वजनिक गरिएको छ । जसमा अम्बिका गुरुङकाे आँखा लाउँछन्…, किरण केसी क्रोधीकाे कुनै दिन यी दृष्टि…, गणेश श्रेष्ठ ‘अपेक्षा’काे आफू उभिएको…, नूतन भुसालकाे सुटुक्कै मनमा…, प्रकाश केसीकाे रगत पनि…, पवित्रा राईकाे अभिनय गर्दै…, वसन्तराज अज्ञातकाे सपनीमा घरी घरी…, डा.राजु बाबु श्रेष्ठकाे सम्पत्ति दिएँ…, राजु थापाकाे भीरै माथि… र सुमन बैरागीकाे प्रबासको पीडा…रहेका छन् ।

वर्ष गीत पुरस्कारका लागि दर्ता भएका एक सय गीतबाट गीतसंगीतमा निरन्तरता, गुणस्तरीयता, सामाजिक स्वीकार्यसहितको योगदानलाई ध्यानमा राखेर उत्कृष्ट दश सार्वजनिक गरिएको अध्यक्ष देवकोटाले कार्यक्रममा बताए । वर्ष गीत पुरस्कारको राशि ५१ हजार नगद रहेको छ ।

त्यसैगरी यस वर्षको डायस्पोरा गीतकार सम्मानबाट गीतकार राखि गौचनलाई प्रदान गर्ने निर्णय गरिएको छ । गीतकार गौचनलाई ११ हजार रूपैयाँ सहित सम्मान गरिने संघले जनाएको छ ।