आयो एकतर्फी माया, अभिनेत्री मरिश्का म्युजिक भिडियो निर्देशक


व्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

गीतकार होम न्यौपानेको एकल गीत, संगीतकार दीपक भट्टराईको एकल संगीत र गायक मुरारी गुरागाईंको एकल स्वर भएको गीतिसँग्रह ’एकतर्फी माया’ श्रोतामाझ आएको छ ।

राजधानीमा समारोहबीच वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी, बरिष्ठ संगीतकार दिपक जंगमले यो गीतिसंग्रहको संयुक्त विमोचन गरेका छन् ।

एकतर्फ माया भित्री चार आधुनिक र चार लोकपप सहित आठ गीतहरु संग्रहित छन् । गीतकार न्यौपानेको यो छैठौ एकल शब्दयुक्त गीतिसंग्रह को । यस अघि आफुले एकल रचनामा चेतना, हिमालको चन्द्र, होराइजन, बाल कुसुम र त्यो सपना बजारमा ल्याईसकेको उनले बताएका छन् ।

यस अघि माई च्वाइस गीति संग्रह ल्याई सकेका गायक मुरारी गुरागाईंले पनि एकतर्फ मायामा मिठा गीतहरु गाएका छन् । गीत संगीतमा रुची सानै देखिको भएको र बसाइ प्रवासको भए पनि आफ्नो रुचीलाई पुरा गर्न गीत गाउँदै आएको उनले बताए । अमेरीकामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका मुरारी गुरागाई नेपाली श्रोताहरु माझ चर्चित छन् ।

शास्त्रीय संगीतका गुरु दीपक अधिकारीले यो संग्रहको धेरै जसो गीत मिठास बनाएका छन् । उनका हालसम्म पाँच वटा एकल एल्बम र करिब डेढ सय गीत, गजल र भजनहरु सार्वजनिक भइसकेका छन् । संगीतकार भट्टराई जापान बसेरै नेपाली गीत संगीतको सृजनामा व्यस्त रहने गरेका छन् ।

अभिनेत्री मरिश्का  म्युजिक भिडियो निर्देशक

अभिनेत्री मरिश्का पोखरेलले म्युजिक भिडियो निर्देशन गरेकी छिन् । उनीद्वारा निर्देशित म्युजिक भिडियो पनि सोही बिमोचन कार्यक्रममा रिलिज गरियो ।

चलचित्र तथा म्युजिक भिडियोमा देखिरहेकी मरिश्काले पहिलो पटक आफुलाई भिडियो निर्देशनमा प्रस्तुत गरेकी हुन् । कार्यक्रममा बिमोचन गरिएको शिर्ष गीत एकतर्फी माया…को भिडियो उनले सोही कार्यक्रममा रिलिज गरिन् ।

‘पहिलो पटक निर्देशनमा आएको छु, अलि फरक महसुश भइरहेको छ । मैले गीतको भाव अनुसार भिडियोलाई देखाउने कोशिश गरेको छु ।’ बिमोचन समारोहमा मरिश्काले भनिन् ।

भिडियोमा उनी आफैंले मोडलिङ गरेकी छिन् । उनको जोडीको रुपमा अभिनेता पुष्प खड्का देखिएका छन् । गीतमा अर्जुन तिवारीको छायाँकन र निशान घिमिरे सम्पादन रहेको छ ।