पुरुषको कपाल दाह्री काट्न खुुसी मान्ने व्युटिसियन


व्युटी न्युज नेपाल
काठमाडौं, १३ जेठ

महिलाहरुले पुरुषको कपाल काटेको कमै देख्न पाईन्छ । तर केही महिलाहरु पुरुषको कपाल अत्यन्त कलात्मक रुपमा काट्ने व्युटिसियनका रुपमा परिचित छन् । यस्तै एकजना युवा व्युटिसियन हुन नविना अधिकारी । जो पुरुषको कपाल काट्न खुसी मान्छिन् भन्दा धेरैलाई अचम्म लाग्छ ।

हो, पुरुषको कपाल दाह्री काट्दा आफुले समाजमा केही पृथक काम गरेको महसुस हुने गरेको नविनाले बताईन् । पाँच वर्ष अघि बार्बर सम्बन्धि प्रशिक्षण लिएपछि उनले पुरुषको कपाल दाह्री काट्ने कार्यलाई समेत निरन्तरता दिँदै आएकी छिन् ।

दाह्री काट्दै नविना

सर्लाहीको राजघाटमा जन्मिएकी नविना (नन्दकुमारी) अधिकारी बिगत ६ वर्षदेखि व्युटिसियन पेशामा छिन् । उनी व्युटिसियनसँगै कुशल व्युटी प्रशिक्षक पनि हुन् । एसएलसी पास गर्ने वित्तिकै व्युटी पेशा रोजेकी उनले व्युटिसियन भएर नै प्लस टुको पढाई पुरा गरेकी छिन् ।

अहिले नविना व्यबसायिक व्युटिसियनको रुपमा स्थापित भईसकेकी छिन् । उनी गत वर्ष २७ चैतमा काठमाडौंमा सम्पन्न ‘व्युटिसियन ट्यालेन्ट नेपाल–२०१८’को सह बिजेता (फस्ट रनर अप) हुन् । सौन्दर्यसँगै उनी मोडलिङ पेशामा पनि बिस्तारै स्थापित हुँदैछिन् ।

यसरी नविन अब व्युटिसियनसँगै मोडलिङमा पनि चम्किँदै लक्ष्यामा छिन् । केही फेशन शोमा भाग लिईसकेकी नविनाले आफुलाई र्याम्प मोडलको रुपमा पनि चिनाउँदै आएकी छिन् । बरिष्ट कोरियोग्राफर जयन सुब्बा मानन्धरबाट क्याटवाक सम्बन्धि केही समय प्रशिक्षणसमेत हाँसिल गरेकी नविना व्युटी र मोडलिङ दुबै पेशामा आफुलाई स्थापित गराउँदै छिन् ।

बुबा केदार अधिकारी र आमा रञ्जु अधिकारीकी छोरी नविनले यो पेशामा आफु आउनुमा परिवारको उत्तिकै प्रेरणा भएको बताईन्,‘अरुका छोरा छोरीलाई अभिभावकले डक्टर, इन्जिनियर, पाईलट बन्नुपर्छ भन्ने गरेको धेरै सुनेको र देखेको छु । मैले व्युटिसियन बन्छु भन्दा मम्मीले हुन्छ, त्यो पेशा पनि राम्रो हो भन्दै मलाई एकै बचनमा स्विकृति दिनु भयो र अहिलेसम्म पनि साथ दिनु भएको छ ।’ उनले अगाडि थपिन्,‘परिवार, आफन्त र मेरी व्युटिसियन गुरु आमा सोनी कारञ्जितको प्रेरणाले म आज यो पेशामा सफल भएको छु र छोटो समयमा केही गर्न सकेको महसुस भईरहेको छ ।’

हुन पनि नविनाले काठमाडौंको रबीभवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट २०६९÷०७० सालमै ६ महिनाको व्युटिसियन प्रशिक्षण पुरा गरेर सोही पार्लर मार्फत व्युटिसियन पेशा अपनाएकी हुन् । त्यसपछि थप एक वर्षको डिप्लोमा गरेकी नविनाले ‘सिटिईभिटी’बाट फस्ट लेबलको स्किल टेस्ट सम्बन्धि परीक्षा उतिर्ण गरिन् । सिटिईभिटीबाट पास भएपछि उनले रोज व्युटी पार्लर मार्फत नै व्युटिसियन प्रशिक्षकको रुपमा आफुलाई अघि बढाएकी छिन् ।

क्यारेक्टर मेकअप गर्दै नविना

यो चार वर्षमा पाँच सय भन्दा बढी व्युटिसियनलाई व्युटिसियन सम्बन्धि प्रशिक्षण दिएर उनीहरुलाई यो पेशामा स्थापित गराउन नविना सफल भईसकेकी छिन् । यो उमेरमै धेरैको गुरुआमा बन्न पाउँदा खुसी लागेको बताउँदै नविनाले भनिन्,‘मैले सिकाएर उहाँहरु व्युटिसियन पेशामा आबद्ध भई प्रगती गरिरहनु भएको छ । मेरो मम्मीको उमेरका कतिपय विधार्थीले यो क्षेत्रमा प्रगति गरेको देख्दा उहाँहरुबाट मैले खुसीसँगै धेरै शुभ आशिष पाएकी छु ।’ यस्ता कुराले आफुलाई यो क्षेत्रमा अझ धेरै प्रेरणा मिलेको पनि नविनाले बताईन् ।

मेकअपमा व्यस्त नविना

नविनको स्पेशलाईजेसन ‘मेकअप’ हो । उनले प्राय सबैप्रकारको मेकअप सिकेकी छिन र सबैलाई सिकाउँदै आएकी छिन् । नर्मल मेकअप, पार्टी मेकअप, ब्राईडर मेकअप, मोडल मेकअप, इफेक्ट मेकअप, फिल्म क्यारेक्टर मेकअप, कन्ट्रोल मेकअप, थ्रिल मेकअप, मोनोक्रोम्याटिक मेकअप जस्ता विविध मेकअप उनले सिकाउने गरेकी छिन् । मेकअपसँगै नेलआर्ट र मेहेन्दीकी पनि उनी स्पेशलिस्ट हुन् ।