डि सिने दशक अवार्ड, आर्यन र रेखा दशकका सर्वोत्कृष्ट नायक नायिका


व्युटी न्युज नेपाल
काठमाडौं, १२ जेठ

छायाँ छबि डि सिने अवार्डको दशकको सर्वोत्कृष्ट अभिनेतामा आर्यन सिग्देल र अभिनेत्रीमा रेखा थापा पुरस्कृत भएका छन् । यो एक दशकमा सबै भन्दा धेरै पटक छायाँ छबी डि सिने अवार्ड जितेको आधारमा यी दुई कलाकार दशककै उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्डबाट पुरस्कृत भएका हुन् ।

नेपाली चलचित्रका स्रस्टालाई बिहिबार साँझ १० औं संस्करणको प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी ३६ विधामा इएनआई डि सिने अवार्ड प्रदान गरेको छायाँछबी क्रियसनले शुक्रबार साँझ पुन दशकका १० उत्कृष्ट विधालाई अवार्ड प्रदान गरेको छ ।

२०६६ सालदेखि यस वर्षसम्म यो एक दशकमा सबै भन्दा बढी पटक डि सिने अवार्ड जितेका र आफ्नो बिधामा सबै भन्दा बढी लोकप्रियता हाँसिल गरेका सर्वोत्कृष्ट १० विधालाई दशकको सर्वोत्कृष्ट अवार्डबाट सम्मानित गरिएको हो ।
दशकका सर्वोत्कष्ट १० विधामा अवार्ड बिजेता यस प्रकार छन् ।

१. सर्वोत्कृष्ट अभिनेता आर्यन सिग्देल,
२. सर्वोत्कृष्ट अभिनेत्री रेखा थापा,
३. सर्वोत्कृष्ट निर्देशक विकाश आचार्य,
४. सर्वोत्कृष्ट निर्माता छबीराज ओझा,
५. सर्वोत्कृष्ट छायाँकार पुरुषोत्तम प्रधान,
६. सर्वोत्कृष्ट सम्पादक बिपिन मल्ल
७. सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन चन्द्र पन्त
८. सर्वोत्कृष्ट संगीतकार अर्जुन पोखरेल,
९.सर्वोत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज
१०. सर्वोत्कृष्ट स्क्रिप्ट लेखक शिबम अधिकारी

शुक्रबार साँझ छायाँछबीको दशकका १० उत्कृष्ट सिनेकर्मी सम्मान कार्यक्रममा यी दश सिनेकर्मीलाई सम्बन्धित विधामा अवार्ड प्रदान गरियो । डि सिने अवार्डका निर्देशक प्रदीप कुमार उदय, अग्रज अभिनेत्रीद्धय बसुन्धरा भुसाल, चैत्यदेबी सिंह र छायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रियले यी अवार्डहरु प्रदान गरे ।

अभिनेता आर्यनले अझै १० वर्ष उत्कृष्ट सिनेमा दिने प्रतिबद्धता जनाउँदै अबको १० वर्षपछि पनि दुई दशकको सर्वोत्कृष्ट अभिनेताका अवार्ड चुम्ने चाहना व्यक्त गरे ।

डा. खाते र माई लभ बिशेष फिल्म
रोशनी केसीद्धारा निर्मित चलचित्र डा. खातेलाई सोही कार्यक्रममा २०७४ सालका चलचित्र मध्य विशेष चलचित्रबाट सम्मानित गरियो । सडक बालबालिकालाई सडकबाट पुनर्बासको व्यबस्था गरी, शिक्षा स्वास्थ्य र बालअधिकार सहित उज्ज्वल भविष्य निर्धारणका लागि सार्थक चलचित्र निर्माण गरिएकाले डा. खातेलाई सम्मान गरिएको कार्यक्रममा बताईयो ।

यस्तै २०७४ सालको विशेष चलचित्र सम्मानबाट माई लभलाई पनि सम्मानित गरियो । अभिनेता गणेश लामा निर्मित यो चलचित्रले २०७२ सालको विनाशकारी भूकम्पपछि जापानले नेपाललाई गरेको सहयोग र मित्रताको कथा उठाएर दुई देशको सम्बन्धलाई सिनेमा मात्र अझ बलियो बनाउने काम गरेकाले सम्मानित गरिएको पनि कार्यक्रममा जानकारी दिईयो ।

कार्यक्रमलाई अवार्ड समारोहका सहयोगीहरुलाई प्रमाणपत्र पनि प्रदान गरियो । कलाकारहरु राज सागर, सहिमा श्रेष्ठ, धु्रब बिस्को, मनिषा पोखरेललगायतले कार्यक्रमलाई आफ्ना गीतसँगीतबाट सँगीतमय तुल्याएका थिए ।