बसुन्धरालाई लाईफ टाईम लिजेन्ड्री सम्मान, नरेन्द्र र मौसमीलाई रतज सम्मान, श्यामलाई पत्रकारिता पुरस्कार


व्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

बिहिबार काठमाडौंमा छायाँछबी क्रियसनद्धारा आयोजित १० औं संस्करणको ‘इएनआई डि सिने अवार्ड २०७५’मा २५ हजार रुपैयाँ सहितको ‘छायाँछवि लिजेन्ड्री सम्मान–२०७५’ बाट बसुन्धरा भुषाललाई सम्मानित गरिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा साँढे पाँच दशक देखि निरन्तर योगदान पुर्याउँदै  आएकी भुसाललाई उनको योगदानको कदर स्वरुप सो सम्मानबाट सम्मानित गरिएको हो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजीत बासकोटा गत वर्ष यो सम्मानबाट सम्मानित भएका थिए ।

उपकुलपति बासकोटा, अभिनेता भुवन केसी, अभिनेत्री चैत्यदेखि सहितछायाँछबी क्रियसनका अध्यक्ष शान्तिप्रिय लगायतले भुसाललाई यो सम्मान प्रदान गरे ।

नेपाली चलचित्र क्षेत्रमा २५ वर्ष भन्दा लामो समयदेखि कार्यरत चलचित्रकर्मीलाई प्रदान गरिदै आएकोमा यस वर्षको ‘चलचित्रकर्मी रजत सम्मान–२०७५’बाट पुरुषतर्फ चलचित्र बितरक एवम् निर्माता नरेन्द्र महर्जनलाई प्रदान गरियो । अढाई दशक भन्दा अघि देखि यो क्षेत्रमा सक्रियसँगै आधा दर्जन भन्दा बढी सिनेमा हल सञ्चालन गर्दै आएका महर्जन चलचित्र निर्माता र वितरक पनि हुन् ।

यस्तै महिला तर्फको चलचित्रकर्मी रजत सम्मान–२०७५बाट अभिनेत्री मौसमी मल्ललाई सम्मानित गरियो । २०४२ सालमा चलचित्र कान्छीबाट बाल कलाकार र ०४७ बाट चलचित्र भाग्यरेखा मार्फत अभिनेत्रीको रुपमा रतजपट यात्रा सुरु गरेकी मल्लको नेपाली चलचित्रमा योगदानको कदर गर्दै सो सम्मान प्रदान गरिएको कार्यक्रममा बताईयो ।

सोही अवार्ड समारोहमा १० हजार १० रुपैयाँ सहितको छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार–२०७५बाट पत्रकार श्याम अर्याललाई पुरस्कृत गरियो । डेय दशक भन्दा लामो समय देखि पत्रकारितामा सक्रिय उनी हाल इमेज च्यानलका चलचित्र पत्रकार हुन् ।