रोमियो एन्ड मुनाको पल पलमा बिनय र सृष्टीको प्रेम


व्युटी न्युज नेपाल
काठमाडौं, ११ जेठ

२०५० को दशकमा गायिका सुक्मित गुरुङले गाएको चर्चित गीत पल पल…लाई उत्कृष्ट भिडियोका साथ दर्शक माझ आएको छ । पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता विनय श्रेष्ठ यो गीतमा प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत भएका छन् । आगामी ११ साउनबाट प्रदर्शनमा आउँने चलचित्र ‘रोमियो एण्ड मुना’ मा यो गीत राखिएको छ ।

यो चलचित्रमा सृष्टी मुनाको रुपमा देखिएकी छन्, भने उनको रोमियो अभिनेता विनय बनेका छन् । काठमाडौंको दरबारमार्ग स्थित राइजिङ मलमा बिहिबार आयोजित एक कार्यक्रममा चलचित्र रोमियो एन्ड मुनाको नयाँ याे गीत पल पल…को भिडियो रिलिज गरियो ।

यो गीतमा विश्व शाहीको शब्द तथा संगीतमा तयार भएको हो । राजिव समर र नरेश कुमार केसीले भिडियोकाे कोरियोग्राफी गरेका छन् । सुक्मितले एल्बममा आफुले हेला गरेर राखेको गीतले चलचित्रमा स्थान पाएकोमा निकै खुसी लागेको बताइन् ।

विश्व प्रसिद्ध चित्रकार विन्सेन्ट भेन गोगद्वारा निर्मित चित्रलाई मोसन पिक्चरमा परिणत गरेर यो गीतको भिडियो तयार पारिएको छ । चित्रका ती दृष्यमा सृष्टी र विनयको अभिनय पनि मिश्रित छ । भिडियो भिएफएक्सको हिसाबले निकै सुन्दर बनेको छ ।

सृष्टि र बिनयसँगै यो चलचित्रमा प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ । कार्यक्रममा अभिनेता बिनयले रोमियो एण्ड मुना दर्शकको रुचि अनुसारको चलचित्र भएको बताए । अभिनेत्री सृष्टिले पनि चलचित्र राम्रो बनेको दाबी गरिन् ।

शहरिया युवा र ग्रामिण युवती बिचको प्रेमकथा समेटिएको रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । जसमा प्रसन्न गोपाली, राम शर्मा, कविन शाक्य र अभिनेता विनय श्रेष्ठकाे संयूक्त लगानी छ । चलचित्रमा दिपाङकर सिग्देर र बाबु श्रेष्ठको छायाँकन रहेको छ ।

याे चलचित्रमा लोकेन्द्र बज्रचार्यको सम्पादन, गौरव डागोन्कर, कोशिश क्षत्री, कालीप्रसाद बास्कोटा र अर्लको संगीत, प्रताप सिंह, रेनशा राई, राजिव समरको कोरियोग्राफी छ ।