कपाल छोट्याएर खेलाडी अबतारमा जाइरामा नम्रता


व्युटी न्युज नेपाल
काठमाडौ, ८ जेठ

मँगलबार काठमाडौंमा एक समारोहमा नायिका नम्रता श्रेष्ठ निकै छोटो कपालका साथ प्रस्तुत भईन् । उनी कपाल र शारीरिक हिसावले पुरुष खेलाडी जस्तो देखिएकी थिईन् ।

हालै छायाँकन सकिएको चलचित्र ‘जाईरा’मा आफु खेलाडीको रुपमा प्रस्तुत भएको र सोही चलचित्रको लागि आफुले केटा जस्तो छोटो कपाल काटेको नम्रताले सञ्चारकर्मीलाई बताईन् ।

अभिनेत्री नम्रताले जाईरामा खेलाडीको भूमिकामा प्रस्तुत हुन ५१ किलो तौलबाट घटाएर ४३ केजी तौल बनाएको पनि जानकारी गराईन् ।

आफ्नो लोभलाग्दो कपाल पनि सोही भूमिकाको लागि काटेको बताउँदै उनले भनिन्, ‘सबै कुरा बास्तविक देखियोस् भनेर तौल घटाएँ, कपाल काटेर पुरै छोटो पारें । ६ महिना फाईट सिकेर बल्ल मार्सल आर्ट खेलाडीको रुपमा प्रस्तुत हुन लागेकी हुँ ।’

बिगतका चलचित्रमा प्रेमीका (लभर गर्ल)को भूमिकामा प्रस्तुत हुँदै आएकी नम्रताले यस पटक आफुलाई फरक रुपमा प्रस्तुत गर्न लागेको बताएकी छिन् । यो फिल्म एक्सन प्रधान भएकाले आफु यस्तो अबतारमा प्रस्तुत हुन लागेको उनले बताईन् ।

अनुप विक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि प्रमुख भूमिका रहेको यस चलचित्रको प्रदर्शन मिति पनि तय गरिएको छ ।

आशुतोष राज श्रेष्ठले जाइरालाई निर्देशन गरेका हुन् । दर्शकले नम्रतालाई यो फिल्ममा पूर्ण फरक भूमिकामा देख्ने निर्देशक श्रेष्ठले बताए । आगामी १४ मंसिरबाट आफ्नो फिल्म देशभर प्रदर्शनमा आउने पनि उनले जानकारी गराए ।
लोकेश बज्राचार्यको सम्पादन, प्रशन्न गोपालीको निर्माण रहेको यो फिल्ममा निर्देशक श्रेष्ठ र निरोज महर्जनले आलेख तयार पारेका हुन् ।

यसमा केशव थापाको नृत्य निर्देशन छ । कल्याण सिंह, डिजे राजु र टम्ब्ली विडको संगीत यसमा रहेको पनि कार्यक्रममा जानकारी गराईयो । जसमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन र बाबु श्रेष्ठको छायाँकन छ ।