देशका ८० सिनेमा हलमा आयो कान्छा निर्देशकको हैरान


रिलिज फिल्म

व्युटी न्युज नेपाल
काठमाडौं, ४ जेठ

मुलुकका ८० भन्दा बढी सिनेमा हलमा ४ जेठबाट चलचित्र हैरान रिलिज भएको छ । विश्वकै कान्छा निर्देशकको रूपमा गिनिज अफ वल्र्डमा नाम लेखाएका नेपाली बाल निर्देशक सौगात विष्ट दोस्रो चलचित्र ‘हैरान’ हो । यस अघि उनले ८ वर्षको उमेरमा चलचित्र लभ यु बाबा निर्देशन गरेर विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज अफ वल्र्ड बुकमा आफ्नो नाम लेखाएका थिए ।

उमेरले ११ वर्ष पुगेका यी निर्देशकले पहिलो चलचित्र लभ यु बाबा भन्दा दोस्रो चलचित्र हैरान निकै फरक बनाएको बताएका छन् । आफूभन्दा ठूलो उमेरका कलाकार र प्राविधिकबाट पूर्ण सहयोग र साथ पाएका कारण आफूले चलचित्र हैरान एउटा सशक्त सिनेमा बनाउन सकेको सौगातले दाबी गरे ।

पहिलो चलचित्रबाट आफmुलाई मायाँ दिनु भएका दर्शकका लागि हैरान झन बिशेष हुने उनले बताए । चलचित्र हैरान शुक्रबारबाट मुलुकका ८० भन्दा बढी सिनेमा हलमा एकसाथ रिलिज भएको पनि उनले जानकारी गराउँदै व्युटी न्युज नेपालसँग भने,‘हैरान मनोरञ्जन प्रधान सिनेमा हो । समाजका विभिन्न पात्रहरू जीवनमा विभिन्न समस्याले कत्तिसम्म हैरान छन् भन्ने रमाइलो कथा यो सिनेमामा रहेको छ,’

चलचित्र हैरानमा गजित विष्ट, निश्मा घिमिरे, सत्यराज आचार्य, मोहमदवसिम राजा, सागर लम्साल, आरोही शर्मा, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राईलगायतका कलाकारको अभिनय रहेको छ ।

यो चलचित्रमा गम्भीर विष्टका कथा र नृत्य निर्देशन, चन्द्र पन्तको द्वन्द्व निर्देशन, सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठ संगीत रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित फिल्ममा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा, सम्झना पोखरेल निर्माता रहेका छन् । चलचित्रका छायाँकार निर्देशक नवराज उप्रेती र छायाँकार निरज कँडेल, सम्पादक प्रितम पाण्डे हुन् ।

सौगातका बुबासमेत रहेका यो चलचित्रका अभिनेता गजित विष्टले हैरान पूर्ण मनोरञ्जन प्रधान चलचित्र भएको बताए । पहिलो चलचित्रबाट गिनिज बुकमा नाम लेखाएका बाल निर्देशक सौगातले हैरानमा पहिलाको भन्दा अझ राम्रो काम गरेको पनि गजितले दाबी गरे ।