लम्साल र पाण्डेलाई चलचित्र पत्रकारिता सम्मान



सुवेदी, थापा र दाहाललाई पुरस्कार

…………………………………………….

व्युटी न्युज नेपाल
काठमाडौं, २ जेठ

चलचित्र पत्रकार संघ नेपालले आफ्नो १९ औं वार्षिक उत्सब नजिकिँदै गर्दा सो उत्सबमा प्रदान गरिने दुई सम्मान र तीन पुरस्कारको चयन सहित घोषणा गरेको छ । संघको बुधबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको संघका महासचिब अनिल यादबद्वारा प्रेषित बिज्ञप्तिमा उल्लेख छ ।

सो बिज्ञप्ति अनुसार चलचित्र पत्रकारिता सम्मान–२०७५ बाट राजधानी दैनिकका पत्रकार धु्रब लम्साल र अर्का पत्रकार दयाराम पाण्डेलाई सो सम्मानबाट सम्मानित गरिने भएको छ ।

लम्सालले २३ वर्षदेखि चलचित्र पत्रकारितालाई निरन्तरता दिएका कारण सम्मान गर्न लागिएको संघले जनाएको छ । दुई दशक देखि पत्रकारितामा सक्रिय रहेका कारण पाण्डेलाई सम्मान गर्न लागेको पनि संघको भनाई छ ।

यस्तै दुई दशक देखि पत्रकारितामा सक्रिय नयाँ पत्रिका दैनिकका पत्रकार लक्ष्मण सुवेदी र बिगत सात वर्षदेखि टिभी फिल्मीमा कार्यरत पत्रकार सन्ध्या थापालाई जनही २१ हजार रुपैयाँ सहितका ‘चलचित्र पत्रकारिता –पुरस्कार २०७५’बाट सम्मानित गरिने पनि बिज्ञप्तिमा उल्लेख छ ।

यस्तै ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७५’ यस पटक पत्रकार फिल्मी खबर डट कमका अञ्जान दाहाल (मनिष) लाई प्रदान गर्ने निर्णय संघले गरेको छ । पुरस्कार स्वरुप उनलाई एउटा ल्यापटप र ताम्रपत्र प्रदान गरिने भएको छ । संघले आगामी ७ जेठमा १९ औं वार्षिक उत्सब सहित चलचित्र पत्रकारिता दिवस पनि मनाउँदै छ ।