लुटका निर्माता वाग्ले कामदारको लावरवाहीले नक्काली नोट प्रकरणमा हिरासतमा


व्युटी न्युज नेपाल
काठमाडौं, २ बैशाख

छायाँकन भईरहेको फिल्म ‘चँगा चेट’को एउटा सिनमा तीन करोड रुपैयाँ देखाउनु पर्नेमा त्यत्ति धेरै रकम जुटाउन निर्माता माधव वाग्लेले नक्कली नोटको सहायता लिए । त्यही नोटका कारण अहिले उनी प्रहरी हिरासतमा बस्नु परेको छ ।

फिल्मको छायाँकनमा प्रयोग भईरहेको नक्कली नोट फिल्मसँग सम्बन्धित केही कामदारले बजारमा पुर्याएर कारोबार गरेपछि यतीबेला सो प्रकरणमा नेपाल चलचित्र निर्माता संघका उपाध्यक्षा माधव वाग्ले फसेका छन् ।

प्रहरीले वाग्लेलाई बुधबार बिहान उनकै निवासबाट नियन्त्रणमा लिएको छ । फिल्ममा प्रयोग गर्नकालागि छापेको २ करोड ५२ लाख नक्कली नोट सहित वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी परिसर हनुमान ढोकामा राखेको छ ।

कहिलेकाही राम्रो नियतले काम गर्दा पनि त्यसको परिणाम गलत आउँछ । चलचित्र निर्माता माधव वाग्लेले अहिले यस्तै परिणाम भोग्नु परेको छ । किनकी प्रेसमा छापेर सिनेमामा प्रयोग गरिएको नोटको दुरुपयोग नहोस भनेर नोटमा नक्कली नोट, फिल्मको प्रयोजनको लागि भनेर लेखिएको छ । त्यैपनि त्यो नोटलाई बजारमा लगेर कामदारले कारोबार गरेपछि निर्माता माधव वाग्ले फसेको फिल्म चँगा चेटका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् ।

पक्राउ पर्नेहरु
यो प्रकरणमा महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार बिहान २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको बताए । पक्राउ पर्नेमा चलचित्र निर्माता माधव वाग्ले सहित सुर्खेत स्थायी ठेगाना भएका महेन्द्र बोगटी, सो नोट छापिएको छापाखानाका सञ्चालक धादिङका प्रकाश सुवेदी, भक्तपुरका विकेश नापित, सिन्धुली घर भई ललितपुरको लुभू बस्ने सुजित तामाङ र साजन तामाङ रहेका छन् ।

महानगरीय परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार नक्कली नोटको कारबार भएको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको हो । यस्तो नक्कली नोट छाप्न राष्ट्र बैंकसँग समेत स्वीकृति नलिईएको र नक्कली नोटलाई बजारमा कारोबार गरेका कारण उनीहरुलाई पक्राउ गर्नु परेको पोखरेलको भनाई छ ।

नक्काली नोट छाप्न अपनाउनु पर्ने नियम
प्रहरीका अनुसार यस्तो नक्कली नोट के प्रयोगनका लागि छाप्ने हो, त्यो बारे राष्ट्र बैंकलाई जानकारी गराएर सो बैंकसँग स्वीकृत लिनु पर्छ । सो बैंकको सम्बन्धि व्यक्तिको रोहबरमा छाप्नु पर्छ । छापिएको नोटको दुबै तिर प्रस्ट बुझ्ने गरी नक्कली नोट भनेर लेखिनु पर्छ र सम्बन्धित प्रयोजन सकिएपछि यस्ता नक्कली नोटलाई सम्बन्धित निकायको रोहबरमा नष्ट गर्नु पर्छ ।

जबफ गरिएको नोटमा नक्काली नोट, फिल्म प्रयोजनको लागि भनेर एकातिर लेखिए पनि अर्कोतिर नलेखिएको, नोट छाप्न राष्ट्र बैंकसँग समेत स्वीकृति नलिएको र नक्काली नोटलाई बजारमा कारोबार गरेकाले पक्राउ गर्नु परेको पनि प्रहरीले जनाएको छ ।

फिल्मकै लागि छापिएको हो
सो रकम चलचित्र ‘चंगा चेट’को छायांकनका लागि छापिएको चलचित्रका निर्देशक दीपेन्द्र के खनालले बताए । तर, त्यसमध्ये केही रकम बजारमा पुगेपछि वाग्ले पक्राउ परेका हुन् ।

‘चलचित्रको एक दृश्यमा चोरीको दृश्यका लागि ३ करोड नोट चाहिएपछि नक्कली नोट बनाइएको हो तर त्यसमा नक्कली नोट तथा फिल्म प्रयोजनका लागि भनेर प्रस्ट लेखिएको छ,’ निर्देशक खनालले भने ।

तर, प्रहरीले भने सो पैसा राष्ट्र बंैकसँग अनुमति नलिईकन नै छपाइ गरेको, नक्कली प्रयोजन एकातर्फ मात्र उल्लेख भएको र बजारमा कारोबारका लागि पु¥याइएको भन्दै नक्कली कारोबारभित्र नै पर्छ भन्दै प्रस्ट पारेको छ ।

पक्राउ परेका महेन्द्र बोगटीले मँगलबार काठमाडौंको मित्रनगर स्थित सुमधुर क्याफेमा खाजा खाएर सो नोट दिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । सोही खबरको आधारमा बोगटी सहित ६ जना पक्राउ परेका हुन् । खानतलासी गर्दा बोगटीसँग एक हजार रुपैयाँ दरको एक लाख २० हजार त्यो नक्कली नोट भेटिएको थियो । पत्रकार सम्मेलन गर्दै प्रहरीले बुधबार यी सबैलाई सार्वजनिक गरेको हो ।

माधव वाग्लेको भनाई
सो क्रममा निर्माता माधव वाग्लेले प्रोडक्सनको लावरवाहीका कारण नक्कली नोट बजारमा पुगेको बताए । नोट आफुहरुले नक्काली नोट फिल्म प्रयोगनको लागि भनेर प्रस्ट लेखेको पनि स्पष्ट पारे ।

बागबजारमा रहेको छापाखानामा पैसा छाप्ने काम भएको प्रहरीले बताएको छ । त्यसैले छापाखानाको सञ्चालकसँग्ै प्रहरीले पैसा छाप्न प्रयोग भएको मेसिन र प्लेटसमेत जफत गरेको छ ।

नक्काली नोटका प्रयोग अन्यत्र पनि

प्रहरीका अनुसार नक्कली नोटको प्रयोग होटलको कारोबार, यौनकर्मीहरूको प्रयोग, जुवा खेल्न, लागूऔषध कारोबारमा र सक्कलीमा मिसाएर साटासाट गर्न प्रयोग गर्ने कार्यमा भएको पाइएको छ । नक्कली नोट छाप्नेलाई बिगोबमोजिमको जरिबाना गरी १० वर्ष कैद हुने कानुनी व्यवस्था छ ।

निर्माता संघको अपिल
नेपाल चलचित्र निर्माता संघले निर्माता माधव वाग्लेले नक्काली नोट फिल्म प्रयोजनका लागि भनेर छापेका र उनले यसको दुरुपयोग नगरेको जनाएको छ । यसै बिषयमा निर्माता संघले बुधबार साँझ एक प्रेस बिज्ञप्ति जारी गरेर आफ्नो संघका उपाध्यक्ष माधव राज वाग्ले निर्दोष रहेको भन्दै उनको रिहाईको लागि अनुरोध गरेको छ ।
निर्माता संघका अध्यक्ष आकाश अधिकारीले व्युटी न्युज नेपालसँग बुधबार साँझ कुरा गर्दै भने,‘ चलचित्रकै प्रयोजनका लागि नक्काली नोट भनेर छापेको र त्यो नोटलाई फिल्ममा खचेको प्रमाण समेत भएकाले निर्माता वाग्लेलाई छाड्ना हाम्रो आग्रह छ । कतीपय नियमबारे चलचित्रकर्मीलाई जानकारी नहुने भएकाले आउँदा दिनमा यस्ता कुरामा निर्माताहरुले सजगता अपनाउने र नियमसँग काम गर्नेछन् ।’ निर्माता माधव वाग्ले सफल निर्माता भएको र उनको नियत खराब नरहेको पनि अध्यक्ष आकाश अधिकारीले बताएका छन् ।